बेमौसमी रत्यौली

सङ्गीत उत्पादकहरुको रोयल्टी सङ्कलन तथा वितरण गर्ने उद्देश्यले स्थापित संस्था ‘‘सङ्गीत उत्पादक समाज नेपाल’ समयमा नवीकरण नगरिएका कारण खारेज भएको छ । म्याद सकिएको तीस दिन र सो म्याद पनि नाघेको पैंतिस दिनभित्र (पच्चिस प्रतिशत थप दस्तुर सहित) नवीकरण गर्न सकिने  व्यवस्था प्रतिलिपि अधिकार नियमवाली , २०६१ले गरेको भएपनि संस्था नवीकरणका लागि नियमअनुसार आवेदन नदिएकोले स्वतः खारेजीमा परेको हो । वैशाख १२ र २९ गते आएको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण उत्पन्न विचलित मानसिकता र कार्यक्षेत्रबाट पलायन हुनुपरेका विषयलाई संस्थाका पदाधिकारीहरुले नवीकरण नहुनुको प्रमुख कारणका रुपमा अगाडि सारेपनि म्याद सकिएको ३० दिन र थप दस्तुरको ३५ दिन गरी ६५ दिनको समयसिमालाई अपर्याप्त भने मान्न सकिन्न । सो अवधिमा सरकारी कार्यालयहरु खुलै रहेको, संस्थाका अधिकांश पदाधिकारी अवधि भित्रै काठमाडौं फर्किएको र संस्था नवीकरणका विषयमा कार्यसमिति पदाधिकारी कसैले पनि रजिष्ट्रारको कार्यालयमा सम्पर्क नगरेका कारण संस्था नवीकरण नहुनुमा लापर्वाही वा गैरजिम्मेवारीपनलाई प्रमुख कारणका रुपमा लिन सकिन्छ ।

आश्चर्यको विषय त के छ भने प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतम १० दिन बाँकी, २ दिन बाँकी, १ दिन बाँकी भनेर संस्था खारेजीको दिन गनेर बसेका रहेछन् । यो कुरा कसरी पुष्टि हुन्छ भने खारेजीमा परेकै भोलिपल्ट उनले बडो फूर्तिसाथ घटना सावजर्निक गरे । संस्था खारेज हुँदा उनी किन यति धेरै पुलकित भए अझै बुझ्न सकिएको छैन । रजिष्ट्रारको त्यो गरिमामय कुर्सीमा बसिरहँदा उनले रोयल्टी सङ्कलन संस्थाहरुलाई सौताका छोराछोरी नठानेर आफ्नै सन्तान ठानेका भए सायद त्यो कुरा मिडियाबाट सार्वजनिक हुँदैन थियो र संस्था जोगाउन सकिने वैकल्पिक उपायहरु पनि उनले गर्न सक्थे होलान् । बजार अनुगमनका लागि सम्बन्धित अधिकारधनिहरुले सामान्य प्रकृतिका पत्र माग्दा समेत ‘‘तपाइँहरुले व्यापार गर्ने चिठी बनाउने ठाउँ होइन यो’ भनि हप्काएर पठाउनेदेखि रड्डेहात पक्राउ परेका पाइरेटरहरुलाई छुटाउन प्रहरीलाई नै फोन गर्ने सम्मका लज्जास्पद कार्य स्वयं रजिष्ट्रार गौतमबाट भइरहेका समाचार यतिबेला बजारमा ब्याप्त छन् ।

उत्पादक समाज खारेज भएपछि हतास मानसिकतामा रहेका व्यवसायीहरुले कतै  व्युँताउन सकिन्छ कि भनि प्रयास गरेका थिए । तर यही बीचमा रोयल्टी व्यवस्थापनका पक्षधरहरु नै संस्था व्युँताइए अख्तियार जाने, मुद्दा हाल्ने सम्मका धम्की दिन रजिष्ट्रार कार्यालय पुगे । उत्पादकहरुको प्रारम्भिक भेला पश्चात हाल नयाँ दर्ताको प्रक्रिया सुरु भएपनि दर्ता हुनै नदिने समूह सक्रिय रहेको कुरा जानकारीमा आएको छ ।

नेपालमा गीतकार–सङगीतकार, प्रस्तोता र उत्पादकहरुको गरी तीनवटा रोयल्टी सङ्कलन संस्था दर्ता भएका थिए । रोयल्टी व्यवस्थापनका लागि तीनवटै संस्थाबीच दर्जनौंपटक छलफल र केही विषयमा सहमतिहरु पनि भएका छन् । यस्ता विषयमा मतभेद र विमति प्रक्रियागत कुरा हुन् । उत्पादक समाज दर्ता नहुँदा वा दर्ता प्रक्रिया लम्बिदा रोयल्टी व्यवस्थापन सहज होला त ? अहिलेसम्मका समझदारी र भएका उपलब्धिले वैधानिकता पाउलान् त ? यो गम्भीर प्रश्न हो । आफ्नै कान्लामुनी बस्ने छिमेकीको घर पहिरोले लाँदा रत्यौली खेल्ने संस्कृति संसारमा सायदै कतै होला ¤ उत्पादकहरुलाई पाखा लगाएर रोयल्टी व्यवस्थापन सहज हुन्छ भन्ने सोच्नु भन्दा एकजुट भई सहमति र सहकार्यको बाटो रोज्नुमै सबैको भलाई हुने देखिन्छ ।