छ्या ! कति नराम्रो, भिडियो मोडल जस्तो !!

जसरी राम्री युवती देख्दा ‘कति राम्री ! मोडल जस्ती !’ या ‘हिरोइन जस्ती !’ भन्ने गरिन्छ त्यसैगरी आकर्षक शारीरिक व्यक्तित्व भएको युवकलाई ‘ओहो ! हिरो !’ भनेर टिप्पणी गरिन्छ । यो समाजमा स्वाभाविक रुपमा स्थापित एउटा मान्यताको प्रभाव हो । मोडल, हिरो वा हिरोइनका लागि शारीरिक सुन्दरतालाई पहिलो र प्रमुख शर्तको रुपमा समाजले हेर्ने गरेको एउटा ज्वलन्त प्रमाण हो यो । मनोरञ्जनको दुनियाँ भएकोले यहाँ सुन्दरता अभिन्न विषय हुनु स्वाभाविकै पनि हो । हुन त सुन्दरता मात्र मोडल, हिरो वा हिरोइनको पूर्ण परिभाषा होइन । त्यसपछिका दोस्रो, तेस्रो, चौथो र अझ धेरै शर्त अनि परिभाषाहरु हुन सक्दछन् । तथापि जसरी भूतप्रेतको कल्पना गर्दा या कथा भन्दा लामा लामा नङ्ग्रा, कपाल र दाह्रा, बडेमानको शरीर, राता आँखा आदि भन्ने गरिन्छ त्यसैगरी परी या अप्सराको कल्पना गर्दा हरेक कुरा कोमलता र सुन्दरतासँग जोडिन्छ । यहाँ भन्न खोजिएको के हो भने कुनैपनि चरित्रको एउटा छवि र छविको एउटा चरित्र हामी कल्पना गर्दछौं । जुनकुरा हाम्रो मस्तिष्कमा एउटा मान्यताको रुपमा स्थापित भएको हुन्छ ।

पाठकवृन्द ¤ तपाईहरु टेलिभिजन र युट्युब पक्कै हेर्नुहुन्छ र रेडियो पनि कहिलेकाहीँ पक्कै सुन्नुहुन्छ । टेलिभिजन हेर्दैगर्दा र रेडियो सुन्दैगर्दा तपार्इँहरुमध्ये धेरैलाई गीत गाऊँ गाऊँ, भिडियो मोडलिङ गरौं गरौं या टेलिभिजन प्रस्तोता बनौं बनौं लागेको हुनुपर्छ । सम्भवतः त्यही रेडियो र टेलिभिजनकै प्रेरणाले तपाईँहरु मध्ये केहीले गीत गाएर एल्बम पनि निकालिसक्नुभएको होला त केहीले भिडियोमा मोडलिङ गरिसक्नुभयो होला । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान शत प्रतिशत कतै चरितार्थ भएको छ भने घोत्लिनै पर्दैन त्यो नेपाली सङ्गीत क्षेत्र नै हो ।

एउटा बाजा राम्रोसँग बजाउन नजान्ने मान्छे सङ्गीतकार, आफ्नै गीत नबुझ्ने गीतकार, कुनै आकर्षण नभएका भिडियो मोडल, स्वरमा रत्तिभर मिठास नभएका र सुरको ‘स’ थाहा नभएका गायक÷गायिका, पाइलैपिच्छे भिडियो निर्देशक, भाषाको फिटिक्कै ज्ञान नभएपनि रेडियो र टिभिमा बोल्ने जागिर र जे लेखेपनि गीत हुने रीतले यो क्षेत्र पैसावाल र आफ्ना मान्छे हुनेहरुले ताण्डव देखाउने मैदान बनेको छ । अब त ‘कति नराम्रो ! भिडियोको मोडलजस्तो !’ ‘के बोलेको होला आर.जे., भि.जे. जस्तो’ या त ‘कस्तो स्वर छ्या ! टिभिमा बजेको गीत जस्तो !’ भन्ने जमाना आइसक्यो । असाधारण प्रतिभाले भन्दा पैसाको तागतले सेलिब्रेटी बन्ने यही प्रवृत्ति हावी हुँदै गएमा नेपाली सङ्गीतको उत्थान कसरी होला र ! हाम्रो अन्तर्राष्ट्रिय छवि कस्तो बन्ला ?