कुर्सीका लागि उम्मेदवारी

जबजब म्युजिक व्यवसायले डिजिटल युगतिर प्रवेश गर्दै गयो र व्यवसायीहरु फुर्सदिला बन्दै गए  तबतब यस क्षेत्रमा फतौरे र कुरौटे संस्कृति, गुटबन्दी र लक्ष्य बिनाको राजनीति मौलाउँदै गएको हो । क्यासेट र सीडीको बजार रहुन्जेल व्यवसायीहरु धेरै व्यस्त थिए । बिनाकाम टहलिने र घण्टौं चिया पसलमा गफ गरेर बस्ने फुर्सद धेरैजसोलाई थिएन । अतिरिक्त व्यवसाय र जागीर भएका बाहेक अहिलेका म्युजिक व्यवसायी धेरै फुर्सदिला छन् ।

नेपाल सङ्गीत उद्योग सङ्घका वर्तमान अध्यक्ष अर्जुन बोहरा भन्दा अघिल्ला कार्यकालमा पनि ‘सङ्गीत उद्योग सङ्घ’ ले व्यवसायीको हित हुने किसिमका दीर्घकालीन एवं परिणाममुखी नगण्य कार्य मात्र गरेको थियो । केही वर्ष अघि डाउनलोड सेन्टरको अवधारणा लागू गर्ने प्रयास गरिए पनि त्यो असफल भयो । हिसाबकिताबका बारेमा व्यवसायीहरुबाटै र सम्बन्धित अंशियारहरुबाट समेत सङ्घले ठूलो आलोचना खेप्नुपरेको थियो । आत्मघाती पर्चेजप्रति पनि सङ्घ मौन रहँदै आएको छ । समग्र सङ्गीत व्यवसायीहरुको एकमात्र छाता संस्था नेपाल सङ्गीत उद्योग सङ्घमा  न त आफ्ना सदस्य कम्पनी बाहेक अन्य उद्योगी व्यवसायीहरुको आधिकारिक तथ्याङ्क छ न गीत उत्पादन अनुपातको कुनै डाटा छ । यसैगरी बीचैमा अवशान भएको अघिल्लो उत्पादक समाजले पनि सदस्यता विस्तार, गीतको आधिकारिकता प्रमाणीकरण र लगत सङ्कलन लगायत रोयल्टीको पहिचान, सङ्कलन र वितरणका लागि कुनैपनि आधारभूत काम गरेको देखिएन ।

पछिल्ला केहीवर्ष यता सङ्गीत उत्पादकहरुको भूमिका र औचित्यमाथि प्रश्नचिन्ह लगाउँदै धेरै स्रष्टा–कलाकारले आफ्नै एल्बम रिलिज गर्नका लागि मात्र भएपनि कम्पनी खोले । जोखिम बढ्दै गएपछि स्वाभाविकै रुपमा व्यवसायीहरुले लगानीमा कटौती गरेको तथ्यलाई कसैले नकार्न पनि सक्दैन । त्यसैले न्यून रुपमा मात्र लगानी गर्ने र गर्दै नगर्ने अवस्था समेत उत्पादकहरुमा देखिएको छ । जुन आरोप बजारमा उनीहरुले खेप्दै पनि आएका छन् ।

सङ्गीत क्षेत्रसँग सम्बन्धित अधिकांश यस्ता संस्थाहरुमा चुनावका बेला उम्मेदवारहरुमा देखिएका उत्साह पदाधिकारी भएपछि हराउने गरेका छन् । उद्देश्य, लक्ष्य र योजनाबिना नै पदमा आउने र बेलाबखत मिटिङ बसी समितिकै पदाधिकारीहरुसँग चन्दा उठाएर कार्यालय सञ्चालन गर्ने बाहेकका कुनैपनि काम नगर्ने प्रवृत्ति पनि पुरानै हो । अतः सङ्गीत क्षेत्रका स्रष्टा–कलाकार र व्यवसायीहरुले विगतका कमी कमजोरीबाट पाठ सिक्दै बढी जिम्मेवार हुनुपर्ने साथै लक्ष्य र योजना बोकेर मात्र पदमा आउनु पर्ने देखिन्छ ।