पुरानाजति सबै महान हुँदैनन्

अग्रज स्रष्टा – कलाकारहरुलाई सबैले आदर र सम्मान गर्नुपर्छ भन्ने कुरामा कसैको पनि मत नबाझिएला । नेपाली सङ्गीतले पनि आज विश्वव्यापी रुप लिएको छ र यकिन तथ्याङ्क नभए पनि हजारौं स्रष्टा – कलाकार एवं प्राविधिकहरु प्रत्यक्ष–अप्रत्यक्ष रुपमा यस क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । नेपाली सङ्गीत, व्यावसायिक धार समात्दै आजको यो उर्वर अवस्थासँग आइपुग्दै गर्दा हिजोको दिनमा भोको पेट लिएर नाङ्गै खुट्टा हिँडेका ती तमाम स्रष्टा – कलाकारको पनि हामीले स्मरण गर्नुपर्दछÊ। जसले खनेका जग र कोरेका गोरेटाहरु नै आज सुन्दर महल र चिल्ला सडकहरुमा रुपान्तरण भएका हुन् ।

पूर्व समयमा सञ्चारको, अझ भनौ खबर र मनोरञ्जनको एकमात्र साधन रेडियो नेपाल थियो । जनतामा पत्रपत्रिका पढ्ने संस्कार बसिसकेको थिएन । त्यो समयमा एउटा मात्र गीत गाएको व्यक्तिलाई समेत जनताले चिन्थे । ‘सुने त्यही रेडियो नेपाल, नसुने त्यही रेडियो नेपाल’ भएको त्यो समयमा चर्चित भएका कतिपय अग्रज स्रष्टा–कलाकार यस्ता पनि छन् जसको न त गायकी कला उत्कृष्ट छ न रेकर्डेड गीत धेरै छन्, तथापि उनीहरु लोकमा प्रिय भए । जन्मजात अब्बल प्रतिभा, गहिरो साधना र उच्च साङ्गीतिक ज्ञान नभएपनि उनीहरु त्यो बेला स्थापित भए । २–५ वटा वा ८–१० वटा मात्र गीत गाएका या त २–५ वटा मात्र हिट भएका त्यस्ता कैयौं अग्रज कलाकारहरु छन् जसलाई मिडियाले अझै ‘हजारौं गीत गाउनु भएका’ या ‘अतुलनीय योगदान  दिनुभएका’ भनेर प्रचार गरिरहन्छन् । अग्रज हुँदैमा या कपाल फुल्दैमा कोही पनि महान् हुँदैन । रहरमा या लहडमा गाइएका १–२ गीत अचाक्ली लोकप्रिय भए भन्दैमा त्यस्ता कलाकारलाई ‘धरोहर’ नै भनेर बुई बोकिहाल्नु चाहिँ साँच्चिकै योगदान दिनेहरुको पनि अपमान हो । तर हामीकहाँ प्रचलन यस्तै छ । कलाकारिताप्रतिको समर्पण, निरन्तरता र आयामिक कर्महरुको विश्लेषणबाट मात्र कलाकारको योगदानको सही मूल्याङ्कन हुन सक्दछ । पुराना जति सबै पक्कै पनि महान् हुँदैनन् । महान् हुनलाई कर्म पनि महान् हुनुपर्दछ ।’