रजिष्ट्रारको कार्यालय कि इन्स्टीच्युट ?

नेपालमा प्रतिलिपि अधिकारको क्षेत्रमा नियमनकारी एकमात्र निकाय ‘नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय’ हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आजभन्दा लगभग १२ वर्ष अघि स्थापित यस कार्यालयको हालसम्म कुनैपनि शाखा छैन । ऐनले न्यायिक अधिकार नदिएको भएपनि स्थापनाकालदेखि नै यस कार्यालयले प्रतिलिपि अधिकारका विषयमा देशव्यापी रुपमा कानून कार्यान्वयन गर्ने निकाय र सरोकारवालाहरुको सहभागितामा तालीम वा अन्तरक्रिया कार्याक्रमहरुको आयोजना गरी उनीहरुलाई चेतनशील बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले १२ वर्षमा ५ जना रजिष्ट्रार पाइसकेको छ । पाचौं तथा हालसम्मकै अन्तिम रजिष्ट्रार बाबुराम गौतम त्यहाँबाट बढुवा सरुवाको क्रममा छन् भने कार्यालयले छिट्टै नयाँ अर्थात् छैटौं रजिष्ट्रार पाउँदै छ ।

स्थापनाकालका रजिष्ट्रार रामप्रसाद भट्टराई त्यस कार्यालयमा सर्वाधिक लामो समयसम्म रहेका रजिष्ट्रार हुन् । उनले त्यहाँ लामो समय मात्र बिताएनन् प्रतिलिपि अधिकारको क्षेत्रमा प्रारम्भिक चरणका धेरै महत्वपूर्ण कामहरु उनले गरेका थिए । भद्र एवं नरम स्वभावका रजिष्ट्रार भट्टराई प्रतिलिपि अधिकारका विषयमा विज्ञ थिए भने सरोकारवाला क्षेत्रमा समेत उत्तिकै लोकप्रिय पनि थिए । उनको सरुवा हुँदा खासगरी गीत–सङ्गीतको क्षेत्र चिन्तित भएको थियो । त्यसपछि आएका रजिष्ट्रार जन्मेजय रेग्मी छोटो समय बसे र बढुवा सरुवा भए । उनी न स्रष्टा कलाकार र सम्बन्धित सङ्घ–संस्थासँग त्यति घुलमिल भए न त उनी त्यहाँबाट सरुवा हुँदा कोही दुःखी या खुशी भयो । तेस्रो रजिष्ट्रारको रुपमा आएका वीर बहादुर राई त्यहाँ आएपछि कार्यालयको रौनक फेरिएको थियो । फरासिला, मिलनसार, सहयोगी र अध्ययनशील राईले छोटो समयमै धेरैको मन जिते । उनले पनि आफ्नो कार्यकाललाई स्मरणीय बनाएर गए । त्यसपछि चौथो रजिष्ट्रारको रुपमा विसु कुमार के.सी. को आगमन भयो । प्रतिलिपि अधिकारका विषयमा पर्याप्त ज्ञान भएका के.सी.लाई कार्यालयसँग सम्बन्धित थप कुराहरु बुझ्न र अध्ययन गर्न समय लागेन । स्वयं गीतकार समेत रहेका रजिष्ट्रार के.सी. बिस्तारै स्रष्टा–कलाकार, रोयल्टी सङ्कलन संस्थाहरु र गीत–सङ्गीत क्षेत्रसँग सम्बन्धित अन्य संस्थाहरुसँग घुलमिल भए । प्रतिलिपि अधिकारको क्षेत्रमा भएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गतिविधि, कानून, प्रचलन एवं प्रावधान, रोयल्टी व्यवस्थापन सम्बन्धी भएका अन्तर्राष्ट्रिय अभ्यास र प्रगति, अन्तर्राष्ट्रिय महासन्धीहरु आदि इत्यादीका बारेमा गहिरो ज्ञान भएका रजिष्ट्रार के.सी.ले आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण काम गरे । अन्ततः बढुवाको समय नभएपनि सरकारी प्रावधान अनुसार उनी सरुवामा परे । जुन कुरालाई खासगरी गीत–सङ्गीतको क्षेत्रले दुखद् घटनाको रुपमा लिएको थियो । त्यसपछि आगमन भयो बाबुराम गौतमको ।

पाचौं रजिष्ट्रार बाबुराम गौतम बढुवा सरुवा भएका छन् । हालसम्मकै अलोकप्रिय रजिष्ट्रार गौतमको सरुवाले एकातिर सिड्डो सङ्गीत क्षेत्र नै खुशी देखिएको छ भने अर्कोतिर नयाँ रजिष्ट्रार कस्तो आउनेहुन् भन्ने चिन्ता सबैको मनमा छ । यो क्षेत्र प्राविधिक भएकोले प्रतिलिपि अधिकारको ‘प’ पनि नबुझेका र बुझ्न पनि खासै नचाहने ‘गौतम’ जस्ता व्यक्ति रजिष्ट्रार बन्ने क्रमले निरन्तरता पाइरह्यो भने रोयल्टी व्यवस्थापनको क्षेत्रमा आजसम्म भएका उपलब्धी र प्रगति ‘बालुवामा पानी’ हुन सक्छ । कार्यालयमा रजिष्ट्रार बनेर आउन चाहने कर्मचारीले पनि जिम्मेवारीको गहनता बुझ्दै नबुझी कार्यालय प्रमुखको हैकम, गाडी सुविधा र २–४ पटक विदेश भ्रमणको आकर्षण मात्र हेर्ने हो र रोयल्टी व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालय संवेदनशील नहुने हो भने यो कार्यालय नयाँ रजिष्ट्रारको लागि इन्स्टिच्युटको रुपमा मात्र सीमित रहने छ । जसले गर्दा  स्रष्टा–कलाकारहरुको रोयल्टीको सपना ‘वीरबलको खिचडी’ नबन्ला भन्न सकिन्न ।