सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी बिचार गोष्ठी सम्पन्न


विश्व कीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थानमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धी बिचार गोष्ठी सम्पन्न भएको छ । सगरमाथा दिवसको अवसरमा सगरमाथाकै आधार शिबिर ५ हजार ३ सय ६४ मिटरको उचाईमा उक्त गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहभागी हुन Colorado state university, USA का वरिष्ठ वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joel Berger, University of Colorado Boulder, USA को वातावरण बैज्ञानिक तथा प्राध्यापक डा. Joanna Lambert नेपाल आउनुभएको थियो ।

विश्वभर तीब्र गतिमा जलवायु परिवर्तनको असर देखिएको र त्यसको असर अविकसित राष्ट्र नेपाल जस्तो देशहरुलाई तीब्र गतिमा परिरहेको छ । ०.०२५% कार्वन उत्सर्जन गर्ने नेपाल अहिले चौथो पीडित राष्ट्रमा पर्दछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर गर्ने विज्ञहरुको भनाई छ । कतिपय विज्ञहरुले पाँचवर्ष भित्र सगरमाथा आधार शिबिर तालमा परिणत हुने प्रक्षेपण मात्र गरेका छैनन् सगरमाथाको आयु पनि ३०-४० वर्ष भन्दा बढी नरहने बताईरहेका छन् ।

जलवायु परिवर्तनले मानव जीवनसँगै वन जङ्गल, हिमाल सबै क्षेत्रमा पारेको असरबारे सरकार बेखबर नभए पनि त्यसको न्यूनीकरणको लागि कुनै पहल नगरेको र हाम्रा हिमशृङ्खलाहरु मासिने अवस्था आएपछि विश्व समुदायलाई जलवायु परिवर्तनको असर र न्यूनीकरण बारे सन्देश दिन कार्यक्रमको आयोजना गरिएको कुरा आयोजकले बताएका छन् ।

सगरमाथा आधार शिबिरमा आईतवार भएको कार्यक्रममा सहभागी हुँदै बैज्ञानिक डा. जोएलले ब्यक्तिगत पहल गरेर केही नहुने, अब सरकार र राजनीतिक दलहरुले नयाँ नीति बनाएर जलवायु परिवर्तन बिरुद्ध लडाई लड्नु पर्ने बताउनु भयो । यही रफ्तारमा जलवायु परिवर्तन हुने र त्यसको न्यूनीकरणका लागि पहल नगर्ने हो भने अबको केही पुस्ता बाहेकले पृथ्वी नदेख्ने उहाँले बताउनुभयो । सरकारसँगै यसरी सङ्घ संस्थाहरु लागिपर्नु पर्ने जुन कुराको सुरुवात विश्व कीर्तिमानी समाजले गरेकोले अत्यन्तै खुसी लागेको पनि उहाँले बताउनुभयो । अब हामी सबैले औद्योगिक क्रान्ति गर्दा जलवायु सम्बन्धी विषयमा समेत सचेत रहनुपर्छ उहाँले भन्नुभयो ।

कार्यक्रम बिहान ९ बजे सुरु भएर १ बजे सम्पन्न भएको आयोजकले बताएका छन् । कार्यक्रमको बिचमा बैज्ञानिकद्वय जोएल र जोआन्नाले प्रोजेक्टर मार्फत समेत आफ्नो बैज्ञानिक तथ्य पेश गरेका थिए। कार्यक्रमको सम्पूर्ण रुपमा छायाङ्कन गरिएको र अब वृत्तचित्र समेत बनाएर विभिन्न देशहरुमा पठाएर जलवायु सम्बन्धी जनचेतना फैलाउने आयोजकको दाबी छ । कार्यक्रममा नेपालका वरिष्ठ साउण्ड ईन्जिनियर छिरिङ भोटेले साउण्ड सम्बन्धी रेकर्ड गर्नुभएको थियो भने कार्यक्रमको छायाङ्कन मृगेन्द्र राजभण्डारीले गर्नुभएको थियो । आधार शिविरको सम्पूर्ण ब्यवस्थापन नेपालकै सबैभन्दा ठूलो एक्पेडिसन कम्पनी सेभेन समिटले गरेको थियो ।

उक्त कार्यक्रमको लागि बैज्ञानिक सहितको टोलिको नेतृत्व गर्दै जेष्ठ ६ गते समाजका अध्यक्ष सन्च बहादुर राई सगरमाथा आधार शिविरतर्फ लाग्नुभएको थियो । आधार शिविरतर्फ लाग्नु अघि जेष्ठ ५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले टोलिलाई कार्यक्रमको सफलताको शुभकामना सहित नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।