जनताको कुरा कसले बुझ्ने ?

-डा. डी. आर. उपाध्याय


आज देशमा तमाम समस्या छन् । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरु गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ-आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन् । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरातर्फ कसैको ध्यान गएको पाइँदैन । चारैतिर समस्यै समस्या छन् । गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महंगी बढेको बढै छ । सरकारी ढुकुटीमाथि मनपरी बर्मालुट भइरहेको छ ।

जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन् । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ? जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ? यसको फैसला त जनताले गर्लान नि ! देश झन् पछि झन् नाजुक बन्दै गइरहेको छ तर नेताहरु ठूला ठूला कुरा गर्न अझै छाडेका छैनन् ।

नेताहरु समृद्धिका कुरा गर्छन् तर ब्यवहारमा लागू गर्दैनन् । सत्ताका लागि एक आपसमा लडिरहेका छन् । जनताको आवाज बोल्ने थलो संसद लामो समयदेखि अबरुद्ध छ । लामो समयदेखि एमालेले संसद अबरोध गर्दै आइरहेको छ । संसद अबरोध गरेर मात्र समस्या समाधान हुँदैन । यो जनमतमाथिको अपमान हो । एमाले मुलुकप्रति गम्भिर बन्नुपर्ने आबश्यकता देखिएको छ । जनताले संसद अबरोध गरेको मन पराइरहेका छैनन् । यदि एमाले देश र जनताप्रति इमानदार छ भने संसद सुचारु हुन दिनुपर्छ । जनता भोक, रोग र बेरोजगारी जस्ता समस्याले थिचिएका छन् । जनताका कुरा कस्ले बुझने ?

प्रजातन्त्र आएको पनि चार दसक बढी भइसक्यो । जनताले मत दिएर नेतालाई कुर्सिमा पठाएको किन हो ? जनता जवाफ खोजिरहेका छन् । नेताले आफ्नो भागबन्डा मात्र खोजेर देश बन्न सक्दैन । नेता धनी बन्दै जाने जनता गरिव बन्दै जाने यो प्रबृतिले देश कहिल्यै अघि बढ्न सक्दैन ।

देश रेमिट्यान्सको भरमा चलेको छ ।  वार्षिक पाँच लाख बराबर युवा बाहिर पलायन हुन्छन् । देशमा न पढ्ने वातावरण छ न त केही गर्ने । अधिकांशको बुझाइ हो यो । जनतालाई भ्रम छर्ने काम गरेर राजनीति गर्ने जुन किसिमको संस्कार मौलाएको छ यसले राम्रो गरिरहेको छैन । जनताले नेतालाई भोट हालेर चुनाव जिताउँछन् तर चुनाव जितेर तिनै नेताले जनतालाई चिन्दैनन् ।

देशमा झन्डै आधा दर्जन संविधान बने तर देश कहिल्यै समृद्ध बनेन । यद्यपि, नागरिकको आशाको दियो निभेको छैन । जलस्रोतमा धनी, कृषिप्रधान र भौगोलिक विविधताले भरिएको यो देश बन्न नसक्दा दु:ख लाग्छ । यो देश कसको कारणले बन्न सकिरहेको छैन ? यसको बाधक को हो ? जनताले बुझनुपर्ने आबश्यकता देखिएको छ । देश बनाउने कुरामा सबै दल एक ठाउँ उभिनु पर्ने हो, तर उभिन सकेनन् । सबैको आ-आफनो स्वार्थ छ । स्वार्थको राजनीतिले देश बर्बाद हुँदै छ ।

आज देश संघीयतामा गएपनि जनता सन्तुष्ट छैनन् । कारण के हो भने जनताको अबस्थामा परिवर्तन आउन सकेन । देशको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । अब राजनीतिक दल र तिनका नेताहरुको सोच, चिन्तन र ब्यवहार बदलिन सकेन भने जनता पक्कै निराश हुने छन् ।