तथ्य एकातिर प्रचार अर्कैतिर

लोकप्रिय गायिका तारादेवीको देहान्त हुँदा राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरुले समेत मुख पृष्ठमा ‘तारादेवीले ४ हजार गीत गाएकी थिइन्’ भन्ने हेड लाइन बनाएर समाचार छापे । केहीदिन अघि ‘नेपाली तारा सिजन थ्री’ कार्यक्रममा ‘नारायण गोपालले हजारौं गीत गाएका थिए’ भनेर प्रसारण गरियो । यी त उदाहरण मात्र हुन् । छापा हुन् या विद्युतीय सञ्चार संस्थाहरुबाट यस प्रकारका समाचार या सूचना विभिन्न लेख र कार्यक्रम मार्फत् प्रचार–प्रसार हुँदै आइरहेका छन् । तथापि यस्ता आङ्कडा तथ्यको आधारमा नभई मनगढन्ते रुपमा आउँछन् र आइरहेका छन् भन्ने कुराप्रति कसैको पनि ध्यान गएको पाइन्न ।

सबै गायक–गायिकाको तथ्याङ्क प्रस्तुत गर्न त्यति सहज छैन । तथापि के चाहिं सत्य हो भने अघिल्लो पुस्ताका साधक साधिकाहरु अम्बर गुरुङ, गोपाल योञ्जन, नारायणगोपाल, तारादेवी, कोइलीदेवी, नातिकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य लगायत कसैले पनि हजार गीतमा स्वर दिएका छैनन् । प्रायजसो गायक–गायिकाले १ सयदेखि २ सयको हाराहारिमा र कसै कसैले सो भन्दा केही बढी मात्र गीत गाएका छन् । तरपनि उदेकलाग्दा छन् हाम्रा सञ्चार संस्थाहरु ¤ तथ्यभन्दा कैयौं गुणा बढाएर समाचार प्रसारण गर्दछन् । पुराना कलाकारहरुका तथ्याङ्क केलाउने हो भने ५ सय गीतमा स्वर दिने विरलै भेटिन्छन् ।

गीत–सङ्गीत क्षेत्रमा आफ्ना सिर्जना र प्रस्तुतिको बारेमा तथ्याङ्क राख्ने कलाकार एवं स्रष्टा एकदमै नगण्य छन् । जे बोले पनि त्यसलाई पुष्टि गर्नु नपर्ने र त्यसको आधिकारिताको खोजी कतैबाट पनि नहुने भएकोले सबैजसो स्रष्टा–कलाकार यही मनोवृत्तिको शिकार भएको देखिन्छ । कहिलेकाहिँ त यस्तो पनि सुनिन्छ र देखिन्छ कि ¤ १०० वटा गीत नगाएको मान्छेले २ हजार गीतमा स्वर दिइसकेको भनिरहेको हुन्छ । सङ्गीत क्षेत्रमा प्रवेश गरेको पाँचवर्ष नपुग्दैको कलाकारले वर्षभरिमा हुने ३ सय ६५ दिन, बीच बीचमा आउने चाडपर्व, घरायसी काम, विरामी भएको समय, खाली बसेको दिन, विदेश भ्रमण र अन्य काम विशेषले व्यस्त भएको समय विचारै नगरी ४ हजार गीत गाएको दावी गर्दैगर्दा सञ्चार संस्थाका प्रतिनिधिहरुले पनि दिनको एउटाका दरले गाउँदा पनि ४ हजार गीत गाउन कति समय लाग्ला ? भन्ने अनुमान गर्दैनन् र अक्षरस लेख्छन्–बोल्छन् । यसबाट ‘धेरै काम गरे धेरै ठूलो कलाकार’ भन्ने मानसिकताले कलाकार र सञ्चारकर्मी दुबै ग्रसित रहेको पुष्टि हुन्छ ।

एकैदिनमा १० वटा गीत गाउनु, सगरमाथाको टुप्पोमा एल्बम विमोचन गर्नु, सयौंलाई भोज खुवाएर लोकार्पण गर्नु या पैसाको खोलो बगाएर सञ्चार संस्था  एकछत्र कब्जा गरी प्रोमो बजाउनु मात्र महान काम कदापि होइन । तर सञ्चार संस्थाहरुले राम्रा र गुणस्तरीय भन्दा यस्तै कामलाई प्राथमिकता दिने गरेका छन् । त्यसैले पनि खोज नै नगरी ‘हजारौं गीतमा स्वर दिएका’ भनेर उनीहरु लेख्छन्–बोल्छन् ।

नेपाली सङ्गीत र चलचित्र दुबै क्षेत्रमा सिर्जना, प्रस्तुति वा निर्माणको यकिन तथ्याङ्क कुनै व्यक्ति वा संस्थाले राख्ने गरेको पाइन्न । तथापि सङ्गीत क्षेत्रमा भने सीमित व्यक्तिले तिथिमिति सहित आफ्ना कामको तथ्याङ्क राख्ने गरेका भएपनि समग्रमा यो स्थिति शुन्य बराबरै छ । यसरी अनुमानको भरमा लेख्ने–बोल्ने र त्यसैलाई पत्याउँदै जाने हो भने इतिहासले झुटा कुरा सङ्ग्रह गर्ने छ र नेपाली सङ्गीतको तथ्याङ्क सधैं गोलमाल नै रहने छ । स्रष्टा–कलाकारले व्यक्तिगत तथ्याङ्क राख्ने र तथ्यको आधारमा मात्र बोल्न अनि सञ्चारकर्मीहरुले पनि खोज अनुसन्धान गरी तथ्य कुरा मात्र सम्प्रेषण गर्न नित्तान्त जरुरी छ ।