कलाकारको जात र धर्म (?)

भनिन्छ कलाकारको जात र धर्म हुँदैन । कुनै जात, धर्म, भाषा र भूगोलको सिमाले कलालाई बाँध्न नसक्ने भएकैले यस्तो मान्यता स्थापित भएको हुनुपर्दछ । पृथ्वीको कुनै कुनामा कुनै एक समुदायभित्रको मान्छेले सिर्जना गरेको एउटा सुन्दर, मनमोहक, आयामिक, चमत्कारिक, सिर्जनशील र हृदयभेदी कलालाई जुनसुकै जात, सम्प्रदाय, धर्म र भूगोलका मान्छेले मन पराउँछन् र प्रशंसा गर्छन् । कला भाषा, भूगोल र सम्प्रदायको सिमा भन्दा धेरै माथि हुन्छ ।

मान्छे सामाजिक प्राणी हो । जन्मदै उसले एउटा निश्चित आस्थाको परिवार र एउटा अलग्गै प्रकारको सामाजिक, धार्मिक, साँस्कृतिक र राजनैतिक परिवेश पाएको हुन्छ । जसभित्रको एउटा संस्कृति र संस्कारभित्र ऊ हुर्कन्छ । तथापि सामान्य अर्थमा कलाकार कुनै देशको नागरिक र कुनै धर्म–संस्कृतिको अनुयायी भएपनि व्यापक अर्थमा ऊ सबैको हुन्छ र सबै उसका हुन्छन् । जसरी संसारभरका सबै मान्छे एकै प्रकारले रुन्छन् र उस्तै हाँसो हाँस्छन् कला त्यस्तै एउटा शाश्वत् तथ्य हो । कुनै वाद्य यन्त्रको मीठो धुन, गलाबाट निस्किएको सुरिलो स्वर वा कुनै सुन्दर चित्रको जात र धर्म कदापि हुन्न । कलाको सम्बन्ध त सिधै मानव हृदय र मास्तिष्कसँग हुन्छ । समस्त मानवको संवेदना र हृदयले गर्ने दुःख–सुखका अनुभूति उस्तै हुने भएकोले कला र त्यसका सर्जक÷कलाकारलाई साझा दृष्टिकोणले हेर्ने गरिएको हो । तर संकुचित सोचाई र अवसरवादी प्रवृत्तिले गर्दा हाम्रा कलाकारहरु जात, धर्म र भूगोलका बन्दै आइरहेका छन् ।

राजनीतिमा बहुदलीय प्रणाली आएयता नेपाली कलाकारहरुमा विचलन बढ्दै गएको छ । कहिले कांग्रेस कलाकार, कहिले एमाले कलाकार त कहिले माओवादी कलाकारको ट्याग झुण्ड्याएर हिंड्नेदेखि मुश्लिम, क्रिश्चियन, हिन्दू, वुद्धिष्ट आदि इत्यादि धर्मका बिल्ला झुण्ड्याउने सम्मका तँछाड मछाडमा कलाकारहरु देखिनु आश्चर्यजनक र दूर्भाग्यपूर्ण हो ।

जुन राजनीतिक पार्टीमा गएपनि र जुनसुकै धर्ममा लागेपनि सबैको लक्ष्य–उद्देश्य एउटै हो– शान्ति, विकाश, समृद्धि र परोपकार । अरुलाई दुःख दिनु पाप हो भने उपकार गर्नु धर्म हो । सम्पूर्ण धर्मको निचोड पनि यही हो । असल मान्छे जहाँ भएपनि उसले असल कर्म नै गर्दछ र खराब मान्छेले खराब नै गर्छ । अतः कुनै पार्टीको सदस्यता लिंदैमा वा धर्मको अनुयायी या प्रचारक हुँदैमा कोहीपनि असल बन्दैन । असल सोच र कर्मले मान्छे असल बन्ने हो । कलाकार आम मान्छे होइनन् । समाजका आदर्श पात्र भएकोले उनीहरुले पथ प्रदर्शकको काम पनि गरिरहेका हुन्छन् । यदि कलाकार नै पथभ्रष्ट भए भने समाजमा त्यसको सकारात्मक प्रभाव पक्कै पनि पर्दैन ।