वन्यजन्तु तस्कर कुञ्जोक समात्ने दुई प्रहरीलाई राष्ट्रसङ्घको अवार्ड


पाटेबाघ लगायतका वन्यजन्तुका अंग (आखेटोपहार) को तस्करीमा संलग्न कुञ्जोक लामा (कुन्जोक छिरिङ तामाङ) लाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघ (यृएन) को वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ ।

यूएनको वातावरण कार्यक्रमले सीआईबीका प्रहरी निरीक्षक सुदर्शन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीलाई सन् २०२० को पाँचौँ एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड दिएको हो । यूएनले उनीहरुलाई प्रभाव (ईम्प्याक्ट) शीर्षकमा पुरस्कृत गरेको हो ।

आफ्ना निर्देशक, पिलर प्रमुखको निर्देशन र सहकार्यमा एकैपटक भारत, चीन र नेपालमा अपरेशन चलाएर खुँखार वन्यजन्तु तस्कर समात्न सफल भएको भन्दै यूएनले पन्थी र जोहारीलाई अवार्ड दिएको हो ।

सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्डले वन्यजन्तु तस्करीमा अन्तर्राष्ट्रिय गिरोहहरुसँग प्रत्यक्ष जोडिएका कुन्जोकजस्ता अन्यलाई समेत खोज्न र पक्राउ गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिए ।

नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा समेत रहेका लामालाई सीआईबीले गत असार ११ मा काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लाङ्टाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । उनी अहिले रसुवा कारागारमा छन् । सीआईबीले वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा लामाको अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएका धेरै प्रमाण हात पारेको थाहा भएको छ ।