कपीराइट कार्यालयमा पहिलोपटक महिला रजिष्ट्रार, सबैजसो कर्मचारी महिला मात्र

  • तुलसी गिरी ‘भावुक’

    ‘नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय’ मा आठौँ रजिष्ट्रारको रुपमा विष्णु कुमारी फुँयाल { भट्टराई } आउनुभएको छ l गत पुष २ गतेबाट उहाँले रजिष्ट्रारको कार्यभार सम्हाल्नुभएको हो l यसअघि रामप्रसाद भट्टराई, जन्मेजय रेग्मी, वीर बहादुर राई, विसु कुमार के. सी., बाबुराम गौतम, राजेन्द्र सिग्देल र प्रकाश आचार्यले रजिष्ट्रारको रुपमा आफ्नो कार्यकाल पूरा गर्नुभएको थियो भने विष्णु कुमारी पहिलो महिला रजिष्ट्रार हुनुहुन्छ l नयाँ रजिष्ट्रारको विषयलाई लिएर यतिबेला समग्र सङ्गीत वृत्तमा कौतुहलता छाएको अवस्था छ l सङ्गीत क्षेत्रमा आंशिक रुपमा मात्र रोयल्टी उठ्न थालेको, डाटा नभएका रोयल्टी कसरी वितरण गर्ने भन्ने मापदण्ड तयार भईनसकेको, २०५९ मा बनेको ‘प्रतिलिपि अधिकार ऐन’ र २०६१ मा बनेको ‘नियमावली’ संशोधनको अवस्थामा रहेको, उठ्न बाँकी रहेका अन्य क्षेत्रबाट समेत रोयल्टी उठाउन बिभिन्नखाले पहल भईरहेको तथा सानासाना विषयलाई लिएर समेत सर्जक-कलाकारहरु मु*द्धामा*मिलामा जाने गरेको आजको अवस्था नयाँ रजिष्ट्रारका लागि चुनौ*ती र अवसर दुबै हुने देखिन्छ l  

    रजिष्ट्रार विष्णु कुमारीको स्थाई ठेगाना सुन्दर हरैंचा नपा- २, विराटचोक, मोरङ हो l उहाँले २०५५ सालमा खरदार पदबाट सरकारी सेवा सुरु गर्नुभएको थियो भने २०६३ मा खुला प्रतिस्पर्धाबाट अधिकृत हुनुभएको हो l हाल उहाँ उप – सचिव पदमा कार्यरत हुनुहुन्छ l रजिष्ट्रार भएर यस कार्यालयमा आउनु अघि उहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबारमा हुनुहुन्थ्यो भने त्यसअघि उहाँले गोश्वारा हुलाक, कार्यालय प्रमुखका रुपमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुर, सहायक जिल्ला प्रमुख अधिकारीका रुपमा सोलुखुम्बू, प्रमुख कार्यकारी अधिकृतको रुपमा पाँचखाल नगरपालिका तथा सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबारमा सेवा दिनुभएको थियो l उद्योग मन्त्रालय अन्तर्गत रहँदा वौद्धिक सम्पति सम्बन्धी नीति, कार्ययोजना तथा ऐन बनाउने बिषयमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी रजिष्ट्रार विष्णु कुमारीले त्यो बेला जनचेतनाका लागि सबै जिल्लामा आईपी सम्बन्धी कार्यक्रम राख्नाका लागि समेत विशेष पहल गर्नुभएको थियो l

    नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय यतिबेला लगभग महिला कर्मचारीको नेत्तृत्वमा छ भन्दा पनि फरक पर्दैन l कार्यालयमा हाल केही दरबन्दी खाली रहेका छन् भने कम्प्युटर अधिकृत उत्तम दवाडी बाहेकका सबै कर्मचारी महिला मात्र छन् l महिला रजिष्ट्रारको नेत्तृत्वमा रहेको यस कार्यालयमा शाखा अधिकृत { सुषमा पोखरेल }, लेखापाल { कल्पना शाह }, नायव सुब्बा { रोशनी कार्की } र कार्यालय सहयोगी { अस्मिता बास्तोला } समेत महिला नै रहेका छन् l आईपी सम्बन्धी पूर्व ज्ञान र उद्योग मन्त्रालय अन्तर्गतका कार्यालयहरुको अनुभवका कारण अध्ययनशील रजिष्ट्रार विष्णु कुमारीलाई प्रतिलिपि अधिकार सम्बन्धी कार्यालयको रथ हाँक्न सहज नै होला भन्ने अनुमान गर्न सकिन्छ l
SUBSCRIBE 👉
SUBSCRIBE 👉