सङ्क्रमितको संख्या बढेसँगै बेड र अक्सिजनको अभाव हुँदै

-डा. डीआर उपाध्याय


कोरोना भाइरसको सङ्क्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनहुँ जसो आइरहेका छन् । यो नै चिन्ताको बिषय बनेको छ । यतिबेला सङ्क्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुँदैछ । समयमा उपचार नपाएर संङ्क्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ कि सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन् । यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नुपर्ने हो कि होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देशभरि जनता त्रासमा छन् ।

अहिले बढिरहेको यो सङ्क्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ । यसमा जनता साथ दिन तयार छन् । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा सङ्क्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयारी गर्न नसक्नु ठूलो भूल हो । सवैभन्दा महत्वपूर्ण कुरा के हो भने जुनसुकै बिपत आउनुभन्दा पहिला सरकारले पूर्व तयारी गरेर बस्नु पर्छ । त्यसो भयोभने क्षति कम हुन सक्छ । यदि कोरोनालाई केही हदसम्म नियन्त्रणमा ल्याउने हो भने सरकारले हवाई र स्थल सिमानामा कडाई गर्नु पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएपश्चात लगभग एक हप्तामै सङ्क्रमितको संख्या चार गुणाले बढ्न थालेको देखिन्छ । यो खतराको सङ्केत हो । नयाँ भेरियन्टको भाइरसले बालबालिका समेत प्रभावित भइरहेका छन् ।

हाम्रो देशमा औषधि, अक्सिजन र बेडको अभाव भइरहेको छ । विज्ञहरूका अनुसार विगतको भन्दा यसपटकको दोस्रो लहरले क्षति झन् बढी हुने छ । खुला सिमाना भएकै कारण नाकामा कडाई गरिएको छैन । हवाई मार्गबाट समेत निर्बाध रूपमा विदेशबाट यात्रुहरू आइरहेका छन् । यस्तो हुँदा जोखिम झनै बढेर गएको छ । बेलैमा हवाई र स्थल सीमा नाकामा कडाई नगरिएकोले यो भयावह परिस्थिती निम्तेको हो । अझैपनि नाकामा कडाई गरिएको छैन । यसको रोकथामका लागि हाम्रो देशमा कुनैपनि पूर्वतयारी देखिएन । अहिले पछुताउने काम मात्र भएको छ । यसपटक स्थिति अत्यन्तै भयावह हुने सङ्केत देखिन्छ ।

तपाईले देखिरहनु भएको छ, छिमेकी देश भारतमा पनि अवस्था जटिल छ । उपचार नपाएर अस्पतालबाहिरै छट्पटाएर ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । कारण के हो भने अक्सिजन लगायत रेम्डेसिभिर औषधि, भेन्टिलेटरको अभाव हो । गत वर्ष इटलीको अवस्थाभन्दा यसपटक भारतमा विकराल अवस्था देखिएको छ । त्यो स्थिती नेपालमा नहोला भन्न सकिदैन । अव सवै मिलेर यसको सामाना गरौं । यो बाहेक अर्को कुनै बिकल्प देखिदैन । सवैले आ-आफनो सुरक्षा आफैं गरौं । सरकारको मुख ताकेर मात्र बस्नु हुँदैन । अवस्था जटिलतातर्फ गएको छ । अव कसरी हुन्छ आफू जोगिने कोसीस गर्नुपर्छ । हामीले दोस्रो लहर भित्रनु भन्दा पहिला धेरै लापरवाही गरेका थियौं । त्यसको सजाय हो यो । भीडभाड गर्ने, सभा गोष्ठि, ठूला ठूला आमसभा जुन किसिमले यो भन्दा पहिला भए त्यसको परिणाम हो यो । सर्वसाधारणले पनि पहिलो चरणको लकडाउन खुलेपश्चात अत्यन्तै लापरबाहीका साथ सभा र सम्मेलनमा भिडभाड गर्ने, मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने जस्ता आदी इत्यादी काम गरे । अव हामी सवैले गम्भीर भएर सोच्न सकिएन भने अझै बिकराल अवस्था आउन सक्छ । शवहरूको दाहसंस्कार र शव व्यवस्थापन गर्न समेत समस्या आउन सक्छ । देशको अर्थतन्त्र केही मात्रामा चलायमान हुन थालेको बेला पुनः लकडाउन भएको छ । लामो समयसम्म यो लकडाउन नेपाल र नेपाली जनताले थेग्न नसक्ने निश्चित छ ।