अव आउँदा दिन शुभ रहुन् ।

-डा. डीआर उपाध्याय


हामी २०७७ साललाई बिदा गरेर २०७८ सालमा प्रवेश गरेका छौ । राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन । सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो त्यस अनुसार द्रुत गतिमा अघि बढन सकेन । अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन् । सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् । अहिले जनता किन वाक्क दिक्क छन ? जनतामा निराशा बढेर गएको छ । जनतामा निराशा आउन दिनु हुँदैन । जनता निराश भए भने देशलाई राम्रो हुँदैन । निराशा र अभावले बिद्रोह जन्माउँछ । यो बिषयमा हामी सवै गम्भिर बनौं । बिगतमा पनि अभाव र असन्तुष्टिले जनता बिद्रोहमा उत्रिएका थिए । अव त्यस्तो स्थिती आउन दिनु हुदैन । अव सरकारले गम्भीर भएर सोच्नुपर्छ ।

गत वर्ष राजनीतिक मुद्धा विवादमा परे । सरकारले ल्याएका विधेयक विवादित भए । पार्टीभित्र आन्तरिक राजनीतिक बिवाद चर्किएर सर्बोच्चको फैसला पछि अन्ततः नेकपा माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा फर्किए । सत्तारुढ दलले आन्तरिक बिवादमा फसेर अधिकांश समय अनावश्यक बितायो । नेताहरु देश र जनताको हित भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा बढी केन्द्रित बने । देश विकास गर्नुपर्ने समयमा नेताहरु अनावश्यक कुरामा अल्झिए । देश र जनताको हक हित र इज्यतका लागि राजनीति गरेको हो भन्दै भाषण चर्काउदै हिडने तर ब्यवहारमा सिन्को समेत नभाँच्ने नेताहरु पनि हामीले देखेका छौ । लोकतन्त्रमा बोल्न, लेख्न पाइन्छ तर जनताको अपमान गर्न पाइदैन । राजनीतिक दलहरुले जनताको अपमान गदै आएका छन । यसरी देश बनाउन सकिदैन । जनतालाई असन्तुष्ट राखेर गरेको राजनीति टिकाउ र दिर्घकालिन हुदैन । यो कुरा नेताहरुले राम्रो संग बुझन जरुरी छ ।

अहिले देशमा जुन किसिमको राजनीतिक गतिविधि भैरहेका छन त्यसले लोकतन्त्रको धज्जी उडाउने काम मात्र भएको छ । केपी ओली नेतृत्वको यो सरकारबाट तीन वर्ष अगाडि नागरिकले ठूलो अपेक्षा राखेका थिए । तर जनताले अपेक्षा गरे अनुसार यो सरकारले काम गर्न सकेन । काम गर्न नै सकेन भन्न त मिल्दैन । ओली सरकारले काम गर्न खोजेको हो तर आफनो पार्टी भित्रको आन्तरिक विवाद र खुट्टा तान्र्ने प्रवृतिले गर्दा जनताले अपेक्षा गरे अनुसार काम नभएको यथार्थ हो । श्रमजीवि नेपाली जनताको चुलो राम्रो संग बलेको छैन । कारण के हो भने महँगीले आकाश छोएको छ । देशमा काला बजारी व्याप्त छ । करका दायरा बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा पटकपटक वृद्घि गरिएको छ । युवाहरुलाई रोजगारीको कुनै अवसर छैन । प्रत्येक दिन १५ सयको हाराहारीमा युवा बिदेसिएका छन् । बिशेष गरेर ग्रामिण भेगतिर युवाहरुको अभावले खेतबारी बाँझिएका छन् । कुनैपनि नयाँ उद्योग खोलिएको छैन । यस्तो छ देशको अवस्था ।

देश फेरि अस्थिर राजनीतिक भुमरीमा पर्ने संकेत देखिएको छ । राजनितिक दलका सीमित नेताहरुको अदूरदर्शी, गैरजिम्मेवारी एवं गुटगत राजनीतिक अभ्यासका कारण हामी नागरिकहरूले अनावश्यक दुःख पाइरहेका छौं । देशको राजनीति अहिले सहि गतिमा अघि बढन सकेको छैन । जनतामा राजनीतिप्रति बितृषणा बढिरहेको छ । देश चलाउन भिजन चाहिन्छ । चुस्त प्रशासनिक संयन्त्र चाहिन्छ । राज्यले कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त, सेवामुखी एवं विकासमुखी बनाउन सकेको छैन । हाम्रो देशमा प्रजातन्त्रको पुनस्र्थापना पछाडिका ३० वर्षमा जनताले के पाए ? मुलुकका समस्याहरू ज्यूँका त्यूँ छन् । जनतालाई दुई छाक टार्न समस्या छ । समिक्षा गर्नु पर्ने बेला आएको छ । २०७८ सालमा जनताको मुहारमा खुसी आउने काम हुन सकोस् । अव आउँदा दिन शुभ रहुन् ।