–डा. डीआर उपाध्य्याय
अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । यो देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरुलाई नभएको आम नागरिकलाई महसुस भएको छ । जनता भोकै बसुन् वा जेसुकै गरुन् नेताहरुलाई त्यसप्रति कुनै चासो नै छैन । यदि चासो हुन्थ्यो भने यो देशलाई निकास दिन सही बाटोमा दलहरु लाग्थे । सत्तामा पुगेपछि आन्तरिक विवाद गर्ने, पार्टी फुटाउने खेल अहिले मात्रै हैन यो भन्दा पहिला धेरै पार्टीहरुले गरे । विगतमा पनि फुट्ने र जुट्ने शृङ्खला भएकै हो । यो कुनै नौलो कुरा होइन । अहिले सत्तारुढ दल नेकपा विभाजनको पनि त्यही प्रवृत्ति हो । भोलि आफ्नो लेनदेनको कुरामिले फेरि मिल्छन् । यसलाई आश्चर्यको रुपमा लिनु जरुरी छैन । विगतमा नेकपा (एमाले) फुटेर माले भएको थियो । फुटेको केही वर्षपछि बामदेव नेतृत्वको माले तत्कालिन एमालेमा फर्केका थिए । नेता तथा कार्यकर्ता शुभेच्छुक जनता फुटको पछि लाग्दैनन् भन्ने कुरा इतिहासले पुष्टि गरेको छ ।
अरु पार्टी भन्दा बढी कम्युनिष्टहरु नै फुट्ने गरेका छन् । नेपालको कम्युनिष्ट इतिहासमा चिराचिरामा विभाजित धेरै कम्युनिष्ट नामधारी पार्टीहरु छन् । कम्युनिष्टहरु पदको नागि फुट्छन् भन्ने कुराको पुष्टि भएको छ । अहिलेको सत्तारुढ दल नेकपा विभाजन हुनुमा विचार, नीति र सिद्धान्त नभएर सत्ताको लागि भएको प्रष्ट देखिन्छ । नेताहरुबीच व्यतिगत टकरावका कारण पार्टी विभाजन भएकोले यसले आम नेता, कार्यकर्ता र जनतामा केही क्षति पुर्याएको छ । केही सीमित नेताहरुको टकरावका कारण सिङ्गो मुलुक बन्धक बनेको छ । आखिर यो फुट किन ? नेकपाका नेताहरुले जनतालाई प्रष्ट पार्नु जरुरी देखिन्छ । मुलुकलाई विकास, समृद्धि र सुशासन दिन्छौँ भनेर हिजो जनतासँग वाचा गरेका कुराहरु पूरा नगर्दै आखिर यो फुट किन ? अहिले नेकपा फुट्नु हुदैनथ्यो । यो फुटले देशलाई दूरगामी प्रभाव पारेको छ । नेकपा फुटाल्न देशी विदेशी शक्तिहरु लागेको हुनुपर्छ । नेकपा फुटमा प्रतिगामीहरु खुसी भएका छन् । लोकतन्त्रवादी शक्तिहरुलाई यो फुटले कमजोर बनाएको छ । अब लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नु पर्ने आवश्यकता देखिन्छ ।