आखिर के को लागि राजनीति ?

डा. डीआर उपाध्याय


आज म अलि गम्भीर छु । हातमा कलम र कापी लिएर घोत्लिरहेको छु । के लेखौँ के नलेखौँ  । केही कुरा नलेख्न पनि मनले दिदैन । लेखौँ लेखौँ लाग्छ । अहिलेको तात्तातो विषय भनेको राजनीति नै हो । अरु सबैकुरा ओझेलमा परे । नेकपाभित्रको विवाद र त्यसले निम्त्याएको राजनीतिक सङ्कट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । एउटा प्रश्न उठ्ने गर्छ, आखिर के को लागि राजनीति गर्ने ? पद,पैसा र शक्तिको दुरुपयोग गर्न राजनीति गरिएको हो ? अहिले त्यस्तै दृश्य देखिएको छ ।

राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिनसम्म राम्रोसँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरुसँग अहिले आलिसान महल, गाडी बैंक व्यालेन्स सबथोक छ । लगानी बिनाको व्यापार भएको छ नेपाली राजनीति । पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछन् । राजनीतिले वितृष्णा जन्मायो ।

२०४६ सालको परिवर्तनपछिका ५ – ६ वर्षसम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो । नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो । त्यस बेलाका नेताहरु त्यागी र निस्वार्थी पनि थिए । तिनीहरुले लाभको राजनीति कहिल्यै गरेनन् । देश र जनताका लागि सोच्थे । तर अहिलेका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा अरु केही हेर्न सकेनन् । जसका कारण राजनीति दुषित भयो । अब राजनीतिलाई सफा गर्नुपर्ने आवश्यकता छ । राजनीति आफैमा दुषित होइन । राजनीति गर्ने नेताहरुको व्यावहार, नैतिकता र चरित्रका कारण दुषित र बदनाम भएको छ । कारण के हो भने राजनीतिको नाममा कमाउने र ठग्ने खेला भयो । जनताको आवश्यकता के छ त्यो बुझ्ने फुर्सद कसैलाई छैन । मीठा भाषण गरेर मात्र मुलुकको समस्या समाधान हुँदैन । चर्को स्वरमा कराउँदैमा नेपालमा साम्यवाद आउँदैन । साम्यवाद आउने भए हामी त्यो भन्दा बढी चर्को स्वरमा कराउन सक्छौँ । अर्को समस्या के हो भने देशमा उत्पादनमुखी काम गर्ने भन्दा राजनीति गर्ने नेता धेरै भए । जुन देशमा धेरै नेता हुन्छन् त्यो देशको विकास हुँदैन । देशको विकास गर्न उत्पादनमा लाग्नु पर्छ । देशका धेरैजसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ?

अहिलेको हाम्रो देशको समस्या तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता पाल्नुपर्ने अवस्था छ । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । देश चलाउन धौ धौ परेको अवस्था छ । तर यही बेलामा सत्तारुढ दलभित्रको द्वन्द्वले मुलुक कता जाने हो यकिन गर्न सक्ने अवस्था छैन । औपचारिक रुपमा पार्टी फुट्ने घोषणा नभएपनि नेकपा फुटिसकेको अवस्था छ । दुई समूह प्रचण्ड – नेपाल र केपी शर्मा ओली समूह । दुबै समूह एकले अर्कोलाई तान्ने र गलाउने रणनीतिमा लागिरहेका छन् । नेकपाभित्रको यो हविगतले सिंगो मुलुक बन्धक बनिरहेको छ । यो नै हामी सबैको लागि चिन्ताको विषय बनेको छ ।