यसरी विकास र समृद्धिको आधार तय गरौँ

डा. डीआर उपाध्याय


विकास र समृद्धि आजको आवश्यकता हो । विकास र समृद्धिको बाटोमा सबै नेपाली जनता एक ढिक्का भएर अघि बढ्नु पर्दछ । आमनागरिकले विकास र समृद्धि चाहेका छन् । अहिले जनता दलहरु बिचको झगडा देख्दा वाक्क दिक्क छन् । यसरी विकास र समृद्धि हुँदैन । समृद्धिले भौतिक विकासका साथै आमनागरिकमा हर्षोल्लास, उमङ्ग र उत्साहको खुसी ल्याउन सक्नु पर्छ । मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकास सँगसँगै आमनागरिकको जीवनस्तर उकासिनुपर्छ यसलाई नै वास्तविक समृद्धि भनिन्छ । जबसम्म भौतिक विकासलाई अघि बढाउन सकिँदैन तबसम्म समाज तथा मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिँदैन ।

अब नेपाललाई अल्पविकसित तथा गरिब मुलुकको स्तरबाट माथि उकास्ने कार्यमा सरकार दृढसङ्कल्पसहित अघि बढ्नु पर्छ । अहिले देशमा तीन तहका सरकार छन् । तिनै तहका सरकारले विकास र समृद्धिमा जोड दिनु पर्दछ । स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र समाधान हुनु पर्दछ । त्यसो भयो भने मात्र आमनागरिकमा वास्तविक सार्वभौमसत्ताको अनुभूति हुन्छ । स्थानीय तह भनेको समृद्धिको पहिलो खुड्किलो हो । “समृद्ध नेपाल, सुखी नेपाली’’को नारालाई सार्थक बनाउन तिनै तहका सरकारको जिम्मेवारी र कर्तव्य हो ।

देशमा विद्यमान राजनीतिक अस्थिरता, मौलाउँदो अनियमितता र भ्रष्टाचार समृद्धिका बाधक हुन् । समृद्धिको लागि जलस्रोत तथा पर्यटन क्षेत्रका सम्भावनालाई सही सदुपयोग गर्न सक्नु पर्छ । सरकारले आयोजनाप्रमुख छनोट गर्दा हाम्रा भन्दा राम्रा र योग्य व्यक्तिले प्राथमिकता पाउनु पर्छ । विगतका गल्तीबाट सरकारले पाठ सिकेर अघि बढ्दा राम्रो हुन्छ । देशमा गलत प्रवृत्ति फस्टाएका कारण अहिले सम्म विकास र समृद्धि हुन सकेन । अझै पनि हाम्रो सामु धेरै चुनौती खडा भएका छन् । जबसम्म गाउँगाउँमा कृषि कर्म गर्ने कृषकभन्दा सहरका गल्ली गल्लीमा कुकुर डुलाएर हिँड्नेलाई सम्पन्न देख्ने जुन हामीमा भएको गलत सोच र संस्कारमा परिवर्तन हुन सक्दैन तबसम्म समृद्धिको सपना ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै हुनेछ ।

समृद्धिका लागि राज्यले शिक्षालाई व्यवसायमुखी र प्रविधिमैत्री बनाउनु पर्छ । त्यसैगरि राज्यले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरी गुणस्तरीय बनाउने र ग्रामीण सडक सञ्जालको शीघ्र निर्माण र यथोचित स्तरोन्नति गर्ने कुरामा जोड दिनु पर्छ । यसरी नै विकास र समृद्धिको आधार तय हुन सक्छ ।