-तुलसी गिरी ‘भावुक’
लोकप्रिय गीतकार अर्जुन भट्टाराईको रचनामा रहेको तिज गीत ‘तिजको रन्को’ को भिडिओ बजारमा आएको छ l सुप्रसिद्ध सङ्गीतकार कालीप्रसाद बासकोटाको सङ्गीत, रिकेश गुरुङको मिक्सिङ/माष्टरिङ तथा दर्शना गान्धारी, गङ्गा सोनाम, म्रिनल मानन्धर र पिटु गहतराजको स्वरमा रेकर्ड भएको यस गीतको भिडिओ हालै सङ्गीतकार बासकोटाकै युट्युब च्यानल Kali Prasad Baskota बाट डिजिटल बजारमा आएको हो l
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा चारैजना गायिका दर्शना गान्धारी, गङ्गा सोनाम, म्रिनल मानन्धर र पिटु गहतराजले प्रमुख कलाकारको रुपमा आकर्षक अभिनय/नृत्य गरेका छन् भने लगभग २ दर्जनको संख्यामा अन्य महिला कलाकारलाई पनि सहायक भूमिकामा देख्न सकिन्छ l भिडिओमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको जीएफएक्स एवं रङ्ग तथा दृश्य सम्पादन रहेको छ l
लोकप्रिय झापाली गीतकार अर्जुन भट्टराईका ओढाउँला पिरतीको बर्को तिमीलाई, जीवन जात्रा हो, भन्छन् छोरो रेलमा, चौंरीको छुर्पी, आधा माया तिमी गर, चामल केलाउन आउँछ ? आदि गीत निकै लोकप्रिय छन् l गीत रचना सँगसँगै गायनमा समेत क्रियाशील रहँदै आएका सर्जक/कलाकार भट्टराईका स्वरमा रहेका गीत चामल केलाउन आउँछ ? कत्ति राम्री भनुँ भने, माया भन्नु यस्तै रैछ, माया सँग माया साट्ने गएछ जमाना, तिमीसँग हारें मैले लगायतका गीत पनि श्रोताले उत्तिकै मन पराएका छन् l













