-सानु श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रमा एउटा फरक र उच्चस्तरीय वैचारिक धरातल बोकेको मौलिक चलचित्र ‘समयको धुनः अधुरो सारङ्गी’ को प्रि–प्रडक्सन कार्य तीव्र गतिमा अगाडि बढेको छ । प्याट टिम कलेक्सन प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन पश्चिम नेपालको बडीमालिका क्षेत्रमा हुने तय भइसकेको छ ।
चलचित्रको कथा र पटकथामा हाम्रो रैथाने इतिहास, माटो र आधुनिक कर्पोरेट संसारबीचको वैचारिक द्वन्द्वलाई मुख्य विषयवस्तु रहने बताईएको चलचित्रको कथा, पटकथा, गीत, संगीत तथा निर्देशन वेदप्रसाद भुर्तेलको रहनेछ । नेपाली रैथाने सारङ्गीको धुनलाई पश्चिमा भव्य अर्केस्ट्रा संगीतसँग फ्युजन गराएर विश्व बजारलाई लक्षित गरी यसको गीत–संगीत तयार पारिएको कुरा निर्देशक भूर्तेलले बताए ।
चलचित्रको मुख्य भूमिकाका लागि अमृत थापाको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छ भने अन्य कलाकार छनौटको क्रममा रहेको छ । बाल कलाकारहरू परिधि दाहाल, आहाना साउद र विनय ढुङ्गाना अनुबन्धित भएका छन् । चलचित्रमा मुख्य सहायक निर्देशकमा नवराज शर्मा, असिस्टेन्ट प्रोजेक्ट म्यानेजर अरुण पासवान, एरेन्जरः फरिन्द्र राई, निर्माता शिक्षिका रत्ना बिष्ट, टीकाराम कट्टेल रहने निर्देशक भुर्तेलले जानकारी दिएका छन्।













