भ्रष्टाचारको अन्त्य हुनैपर्छ

-शंकर गिरी ‘पथिक’

आज देश अन्याय, अत्याचार र भ्रष्टाचारको दलदलमा फसेको छ l देशको स्थिति यतिखेर बडो टिठलाग्दो छ l वास्तवमा भ्रष्टाचार, अन्याय र अत्याचारद्वारा पैसा आर्जन गर्नु कुनै बहादुरी होइन l यो पैसा आर्जन गर्ने सही तरिका होइन l यो त एक प्रकारको नपुङ्सकता हो l नामर्दपना हो l जसरी नुन र मसला बिना तरकारीको केही महत्त्व हुँदैन, त्यसैगरि भ्रष्टाचार, अन्याय र अत्याचारद्वारा पैसा आर्जन गर्ने व्यक्तिहरुको समाजमा केही महत्त्व हुँदैन l त्यसैले त्यस्ता आदर्शबिनाका खोक्रा व्यक्तिहरुलाई चामलबाट कनिका छानेर निकाले जस्तै छानी छानी निकाल्नु पर्छ l अर्थात् सामूहिक वहिष्कार गरिनु पर्दछ l किनभने भ्रष्ट एवं बेइमान व्यक्तिहरुले भ्रष्टाचारबाट सम्पत्ति लुटेर देशलाई खोक्रो बनाईरहेका छन् l यस लुटलाई मेटाउनु पर्दछ l देशलाई स्वच्छ बनाउनु पर्दछ l भ्रष्ट, बेइमान र अपराधी किसिमका व्यक्तिहरुलाई हामीले शक्ति र सम्पत्तिविहीन बनाउनु पर्दछ l एक नयाँ शक्तिशाली नेपालको निर्माण गर्नुपर्दछ l देशमा भ्रष्टाचार नरहने हो भने बेरोजगारीको समस्या रहने छैन l साँचो अर्थमा भन्नुपर्दा जसलाई देशको माटो, संस्कृति, सभ्यता एवं स्वदेशी जनतासँग प्रेम छैन, उसलाई देशमा बस्ने अधिकार पनि छैन l

भ्रष्टाचार, शोषण र अधर्म गर्नेहरु घोर भ्रष्टाचारी हुन् l त्यसैले त्यस्ता आदर्शबिनाका खोक्रा व्यक्तिले नेपालमा बस्नुको कुनै औचित्य देखिँदैन l हामीलाई त जनभावनालाई कदर गर्दै जनतालाई एउटा सक्षम नेत्तृत्व प्रदान गर्ने शिष्ट र सभ्य व्यक्तिको एकदमै खाँचो छ l तर भ्रष्टाचारको मखुण्डो ओढेर जनतालाई तर्साउँदै हिँड्ने व्यक्ति हामीलाई चाहिएको छैन l भ्रष्टाचार, अन्याय र अत्याचारबाट पैसा आर्जन गर्ने व्यक्ति देश र राष्ट्रका कलंक हुन् l प्रजातन्त्रका धमिरा हुन् l समाजलाई घोच्ने तिखा काँडा हुन् l त्यसैले उनीहरुले आफ्नो मनपरीतन्त्रलाई नछाडेसम्म जनताले उनीहरुलाई लखेट्न छाड्ने छैनन् l अन्याय, अत्याचारबाट पैसा आर्जन गर्नु, सरकारी सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु, अनावश्यक ढिलासुस्ती गर्नु, घुस लिनु र दिनु भनेको देशका विकृति हुन् l देशमा यस्ता विकृति रहुन्जेल शोषणरहित समाजको सृजना हुन कठिन पर्छ l त्यसैले यस्ता विकृतिहरुलाई छिटो भन्दा छिटो उन्मूलन गर्नु आजको आनिवार्य आवश्यकता हो l

घुसखोरी जस्तो फोहोरी कामलाई कसैले पनि मन पराउँदैनन् l कुकुरले गुहु धेरै मन पराए जस्तै केवल छुद्र व्यक्तिले मात्र यस्ता प्रकारका क्रियाकलापलाई कर जोडी नमस्कार गर्दछन् l नेपाली नागरिकताको प्रमाणपत्रबाट मात्र वास्तविक नेपालीको पहिचान हुन सक्दैन l वास्तविक नेपालीको परिचय दिनका लागि त नेपाली भएर नेपालीलाई चिन्न सक्नुपर्दछ l जसले नेपाली भएर नेपालीलाई चिन्न सक्दैन त्यस्ता व्यक्तिलाई साँचो अर्थमा नेपाली दाजुभाइ भनेर हातेमालो गर्न सकिँदैन l अत: यस्ता फोस्रा व्यक्तिले आफूमा आफ्नो पन ल्याउनका लागि नेपाली भएर नेपाललाई चिन्न सक्नुपर्दछ l यही नै उसको सर्वश्रेष्ठ पहिचान र  उपलव्धी हो l