पर्वको मर्म र सकारात्मक भावले भरिपूर्ण तिज गीत ‘बाबाको आँगनी’

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध गायक नरहरि प्रेमी उपाध्याय र लोकप्रिय गायिका सुमिना लोको स्वरमा रहेको तिज गीत ‘बाबाको आँगनी’ को भिडिओ सार्वजनिक भएको छ । पुष्पा गौतम पौडेलको रचना, अनिल श्रेष्ठको सङ्गीत र राकेश सोनीको सङ्गीत संयोजन रहेको यो गीत वरिष्ठ सङ्गीतकर्मीद्वय हरि सायमी र कमल अधिकारीले रेकर्ड गरेका हुन् भने राजिव साह र राकेश सोनीको संयुक्त मिक्सिङ/माष्टरिङ रहेको छ ।

‘बाबाको आँगनी’ को भिडिओ राजकुमारको निर्देशन एवं एभरेष्ट राजको कोरियोग्राफीमा छायाङ्कन भएको हो । भिडिओमा सुदिप मैनालीको सिनेमाटोग्राफी र निराजन के.सी. को दृश्य तथा रङ्ग सम्पादन रहेको छ । एभरेष्ट राज, पवित्रा आचार्य, विजय अधिकारी, प्रतिक्षा कटुवाल र लक्ष्मीले प्रमुख कलाकारको भूमिकामा अभिनय/नृत्य गरेका छन् भने रामजी पौडेल, विष्णु पौडेल, अनिता पौडेल, अपेक्षा खनाल लगायतका कलाकारहरुलाई सहायक भूमिकामा देख्न सकिन्छ ।

भिडिओमा गीतकार पुष्पा गौतम पौडेल, नरहरि प्रेमी उपाध्याय र सुमिना लोलाई पनि देख्न सकिन्छ । पर्वको मर्म अनुसार तयार पारिएको यो गीत तथा भिडिओमा एकातिर तिज आउनु अघि माइत जाने रहरले अनेक मिठा कल्पनाहरुमा रमाएकी चेलीको भावना पोखिएको छ भने अर्कोतिर पत्नीको माइत जाने चाहना र रहरहरुमा पतिले ऐक्यवद्धता प्रकट गरेका छन् । सकारात्मक भावले भरिपूर्ण यस गीतले आफ्नो आर्थिक हैसियत भन्दा बढी तडकभडक नगरौं भन्ने सन्देश दिनुका साथै एउटा समझदार परिवारको प्रेमिल कथा समेत प्रस्तुत गरेको छ ।