विश्वप्रसिद्ध गायक उदीतनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख सहयोग गरेको छ।
उदितनारायण झाकी श्रीमती दीपानारायण झा तथा छोरा आदित्यनारायण झाको तर्फबाट साधना कला केन्द्र मार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो। सहयोग स्वरूपको चेक साधना कला केन्द्रका निर्देशक एवं वरिष्ठ सङ्गीतकार मिलन मोक्तानले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गरेका छन् ।
गत भदौ १० गते भोटेकोशीमा हिम चट्टान सहित आएको बाढी तथा पहिरोका कारण भएको धनजनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ। उदितनारायण झाको परिवारले विपद्को कठिन समयमा गरेको यस मानवीय सहयोगप्रति सम्पूर्ण नेपालीहरूको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरिएको छ।













