पोखरा । कास्कीको रुपा गाउँपालिका, वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा १२० जना विद्यार्थीका लागि विद्यालय पोशाकसमेत वितरण गरिएको छ ।
 
लायन्स क्लब अफ् पोखरा नर्सेसको आयोजनामा भएको शिविरमा बालरोग, स्त्रीरोग र गर्भवतीको परीक्षण, भिडियो एक्सरेसँगै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ७५ जनाको बालरोग, ६६ जनाको स्त्रीरोग परीक्षण तथा ४६ जनाको भिडियो एक्सरे गरिएको थियो । शिविरमा वरिष्ठ रेडियोलोजिस्ट डा. गोपिलाल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. किरण शर्मा, निलम महर्जन, मीना थापा, सरु श्रेष्ठ, सुशीला श्रेष्ठ, शारदा पौडेल, सपना गुरुङ, ममता माली, भावना खाँडलगायतले परीक्षण तथा औषधि वितरण गरेका थिए ।

यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रेडियोेलोजिस्ट तथा लायन्स क्लब अफ् अन्नपूर्णका अध्यक्ष डा. गोपिलाल श्रेष्ठले आफूहरु कुराभन्दा कामलाई महत्व दिने र शिवालय माविले पनि कामलाई महत्व दिएर अघि बढेकोमा खुसी लागेको बताए । अध्यक्ष सुवेदीले शिवालयको चौतर्फी विकासका लागि आफूहरु योजनाबद्ध अघि बढेको जानकारी दिए । विद्यार्थीलाई केन्द्रमा राखेर उनीहरुको सिकाइसँगै उपलब्ध गराउन सकिने सुविधाहरुका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरिरहेको भन्दै सुवेदीले आफ्नो कार्यकालभरि विद्यार्थीहरुले विद्यालय पोशाक किन्नुनपर्ने वातावरण सिर्जना गर्ने उद्घोष गरे ।
 
लायन्स क्लब अफ् पोखरा नर्सेसकी अध्यक्ष मीना थापाले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता सुनाइन् । विद्यालय र लायन्स क्लबबिच समन्वयको भूमिका खेलेका सञ्चारकर्मी सुशील नेपालीले शिवालयमा कार्यक्रम ल्याउन पाउँदा गौरव लागेको अनुभव सुनाए । उनले स्थानीयवासी, विद्यार्थी तथा विद्यालय परिवारको उत्साहजनक सहभागिताले आफ्नो प्रयास सार्थक रहेको भनाइ राखे ।
 
सो अवसरमा कार्यक्रमका लागि सहयोग गर्ने व्यक्तिहरुलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो । शिक्षक जयराम सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले स्वागत गरेका थिए ।













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							