-तुलसी गिरी ‘भावुक’
पछिल्लो समय केही व्यक्तिहरूले विगतदेखि कायम रहेका वैधानिक सम्झौता तथा स्थापित व्यावसायिक अभ्यासलाई अस्वीकार गर्दै भ्रामक प्रचार–प्रसार गर्ने, विभिन्न निकायमा अनावश्यक उजुरी तथा दबाब सिर्जना गर्ने, व्यावसायीहरुलाई अनावश्यक दु:ख दिने, हतोत्साही गराउने लगायतका प्रवृत्ति बढ्दै गएकोले व्यावसाय गर्न कठिन भएको भन्दै ‘स्वतन्त्र सङ्गीत समाज नेपाल’का पदाधिकारीले विभिन्न सरकारी निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन् । प्राप्त जानकारी अनुसार संस्थाका अध्यक्ष शम्सेर बहादुर श्रेष्ठ, उपाध्यक्ष पदम बहादुर बुढा, महासचिव जनक तामाङ, सदस्यहरु लक्ष्मण हुमागाईं, हिरा के.सी., इन्द्रबहादुर श्रेष्ठ, राजीव श्रेष्ठ, रमेश कुमार मित्तल लगायतको टोलीले छुट्टाछुट्टै समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रको बेहोरा यस प्रकार रहेको छ-
विषयः नेपाली सङ्गीत उद्योगमा देखिएका गैरकानुनी दबाब, धम्की तथा प्रतिलिपि अधिकार ऐन, २०५९ को दुरुपयोग रोक्न आवश्यक पहल गरिदिनुहुन।
महोदय,
हामी नेपाली गीत–सङ्गीत उद्योगसँग आवद्ध सङ्गीत उत्पादक, वितरक तथा डिजिटल अधिकार व्यवस्थापन क्षेत्रमा संलग्न प्राकृतिक तथा कानुनी व्यक्तिहरूको साझा संस्था ‘स्वतन्त्र सङ्गीत समाज नेपाल’ मार्फत यो ध्यानाकर्षण पत्र पेश गरेका छौं।
हामीले विगत लामो समयदेखि नेपाली कला, संस्कृति तथा गीत–सङ्गीतको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि स्रष्टा, गायक, सङ्गीतकार, गीतकार, कलाकार तथा अन्य अधिकारवालासँग मौखिक, लिखित तथा प्रचलित व्यावसायिक अभ्यासअनुसार सम्झौता गरी सहकार्य गर्दै आएका छौं। प्राप्त आम्दानीको हिस्सा सम्बन्धित अधिकारवालालाई पारदर्शी रूपमा वितरण गर्दै आएका छौं।
पछिल्लो समय केही व्यक्तिहरूले विगतदेखि कायम रहेका वैधानिक सम्झौता तथा स्थापित व्यावसायिक अभ्यासलाई अस्वीकार गर्दै, भ्रामक प्रचार–प्रसार गर्ने, विभिन्न निकायमा अनावश्यक उजुरी तथा दबाब सिर्जना गर्ने, प्रतिलिपि अधिकार ऐन, २०५९ को गलत व्याख्या गरी व्यवसायीहरूलाई धम्की दिने, अनुचित आर्थिक सौदाबाजी गर्ने तथा वैधानिक व्यवसाय सञ्चालनमा अवरोध पुर्याउने गतिविधि गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता गतिविधिका कारण नेपाली सङ्गीत उद्योगमा भइरहेको लगानी, डिजिटल वितरण प्रणाली, स्रष्टाको रोयल्टी व्यवस्थापन, उत्पादक–प्रकाशक–स्रष्टाबीचको विश्वास तथा समग्र उद्योगको विश्वसनीयतामा नकारात्मक असर परेको छ। साथै रोयल्टी सङ्कलन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको विषयमा समेत उद्योगभित्र गम्भीर प्रश्न तथा आशंका उठिरहेका छन्। यसले निर्माता, लगानीकर्ता तथा अधिकारवालाबीच अनावश्यक अविश्वास सिर्जना भई उद्योग नै निरुत्साहित हुने अवस्था देखिएको छ।
यस परिस्थितिमा देहायबमोजिम आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौंः
१. प्रतिलिपि अधिकारसम्बन्धी कानुनको दुरुपयोग गरी कुनै व्यक्ति वा संस्थामाथि धम्की, दबाब, अनुचित आर्थिक सौदाबाजी वा अवाञ्छित प्रभाव पार्ने कार्य रोक्न आवश्यक समन्वय तथा निर्देशन गरियोस्।
२. वैधानिक सम्झौता, प्रचलित कानुन तथा स्थापित व्यावसायिक अभ्यासका आधारमा सञ्चालन भइरहेका सङ्गीत व्यवसायमा अनावश्यक हस्तक्षेप हुन नदिन सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन प्रदान गरियोस्।
३. प्रतिलिपि अधिकारसम्बन्धी विवादहरू प्रमाण, कानुन तथा सम्बन्धित सक्षम निकायको प्रक्रियामार्फत निष्पक्ष रूपमा समाधान हुने व्यवस्था सुनिश्चित गरियोस् र फौजदारी प्रक्रियालाई दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग हुन नदिइयोस्।
४. संगीत उद्योगसँग सम्बन्धित उत्पादक, वितरक, डिजिटल व्यवस्थापक, स्रष्टा तथा अधिकारवालाको वैधानिक हक, हित, लगानी तथा व्यवसायिक सुरक्षाको संरक्षणका लागि आवश्यक समन्वय र सुरक्षा व्यवस्था मिलाइयोस्।
५. नेपाली सङ्गीत उद्योगलाई पारदर्शी, सुरक्षित, लगानीमैत्री तथा कानुनसम्मत वातावरणमा सञ्चालन गर्न सम्बन्धित निकायहरूबीच आवश्यक नीतिगत तथा प्रशासनिक समन्वय गरियोस्।
हामी विधिको शासन, संविधान तथा प्रचलित कानुनप्रति पूर्ण प्रतिबद्ध छौं। कुनै पनि विवाद कानुनी प्रक्रिया, प्रमाण तथा सक्षम निकायको निर्णयका आधारमा निष्पक्ष रूपमा समाधान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ। अतः शक्ति, पहुँच वा प्रभावको दुरुपयोग गरी वैधानिक व्यवसायमा अवरोध सिर्जना गर्ने कार्य नियन्त्रण गर्दै सम्पूर्ण सरोकारवालालाई न्याय हुने वातावरण निर्माण गरिदिनुहुन यो ध्यानाकर्षण पत्र पेश गरेका छौं।













