देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै

-डा. डी. आर. उपाध्याय खनाल

अब मुलुक सुशासन तर्फ अघि बढ्नु पर्छ । यो हामी सबैको चाहना हो । आज देशमा निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । अब मुलुकले निकास पाउँछ कि पाउँदैन भन्ने आम जनतामा चासो छ । नयाँ सरकार गठनसँगै  देशमा एक खालको उत्साह बढेको छ । यो सबैले स्वीकार गर्न सक्नु पर्छ । खै किन हो अहिले जनतामा एक खालको उत्साह छ । तर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले यो बिषयमा गम्भीर बन्नु पर्ने आवश्यकता भने देखिएको छ ।

संसदमा नयाँ सांसद पनि आइसकेका छन् । अब संसदले कस्तो भूमिका खेल्ने ? अब सांसदहरूले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणमा संसदमा सशक्त भूमिका खेल्नु पर्छ । यो नै आजको महत्वपूर्ण बिषय हो । आज मुलुकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । आज देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै आएको छ । पुरानो गठबन्धन भत्किएको छ । सबैले आफ्नो स्वार्थ बढी हेर्ने गर्छन् । त्यो जनतामा छाप छ ।

अब मुलुकमा जनता र मुलुकको हितमा काम गर्ने नेताको खाँचो छ । राजनीतिक दलहरुका नेताहरुमा बढी मात्रमा स्वार्थ देखिएको छ । यसरी मुलुकको भविश्य बनाउन सकिदैन । यो नयाँ गठबन्धन सरकार जनताको विश्वास र भरोसा बन्न सक्नु पर्छ । जनतामा निराशा आउने कुनै काम हुनु हुँदैन । यो कुरा म धेरै पहिलेदेखि भन्दै आएको पनि छु । अहिले नयाँ नेतृत्व सरकारमा आएको छ । यसले मुलुकलाई आशा जगाउन सक्नु पर्छ ।

सरकारको आलोचना गरेर मात्र हुँदैन । सबै कुरामा आशाका किरण देख्न सक्नु पर्छ । तर गलत कामप्रति हर दिन खबरदारी गर्नु पर्ने हुन्छ । देशमा भ्रष्टाचार अत्यधिक बढ्दो अवस्थामा छ । त्यसैले भ्रष्टाचार बढ्नुका कारणको खोजी गर्ने, अध्ययन अनुसन्धान गर्ने र तिनको विरोध गर्ने काममा सांसदले विशेष ध्यान दिन सक्नुपर्छ । भ्रष्टाचार नियन्त्रण आजको आवश्यकता हो । आगामी पाँच वर्षमा मुलुकले विकास, समृद्धि र सुशासनमा धेरै फड्को मार्नु पर्छ ।

अहिले प्रतिनिधिसभामा धेरैजसो युवा आएका छन् । यो खुशीको कुरा पनि हो । त्यसैले उनीहरूले संसदमा विशेष भूमिका खेल्नु पर्छ । जनताको चाहना यो छ । सरकारको गलत कामप्रति खवरदारी गर्ने भनेको संसदहरुले हो । नयाँ प्रधानमन्त्रीले मुलुकको हितमा राम्रो काम गरेर देखाउन सके भने भोलि उनको जय जयकार हुन्छ । जनताले लामो समयदेखि दु:ख पाएका छन् । जनताको पिर मर्का बुझन हरपहल सरकार गम्भीर बन्नु पर्छ । अहिलेसम्म जनताको पक्षमा कुनै किसिमका राम्रा कुरा बाहिर आएका छैनन् । जनता सधै दु:खमा छन् । देश र जनताको भाग्य र भविश्य निर्माण गर्ने हो भने दाहाल सरकारले आफनो वरिपरि घुमेका आसेपासेहरुको घेरा तोडेर अघि बढ्न सक्नु पर्छ । त्यसो भयो भने मात्र उनी सफल हुन्छन् । उनलाई असफल बनाउन खोज्नेहरुको यहाँ कुनै कमी छैन । धेरैले मौका हेरेर बसेका छन् । यो कुरामा प्रधानमन्त्री दाहाल सचेत बन्न जरुरी छ । हामीले त बाहिरबाट सुझाव दिने मात्र हो अरु केही गर्न सकिँदैन ।