चाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि

डा.डी.आर.उपाध्याय खनाल

चाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि गरिएको छ । सरकारले बजार अनुगमनका लागि त्यति प्रभावकारी भूमिका खेलेको देखिदैन । सरकारी निकायले अनुगमनका नाममा अनुगमन गरे जस्तो मात्र गरेका छन् । सरोकारवाला निकायले बजार अनुगमनमा प्रभावकारिता देखाउनु पर्ने आवश्यकता देखिएको छ । दैनिक उपभोग्य सामानमा मनलाग्दी मूल्यवृद्धि गरिदा सर्वसाधारणको ढाड सेकिएको छ । बजारमा कुनै सामान किनिनसक्नु भएको छ । आज सरकार तथा यो बिषयमा मौन भए जस्तो देखिन्छ ।

अत्यावश्यक सामानमा दैनिक रुपमा मूल्य वृद्धि भइरहँदा आमउपभोक्ता ठूलो मर्कामा परिरहेका छन् । सामान्य मानिसलाई लागि जीविकोपार्जन गर्न समेत धौ धौ परिरहेको छ । चामल, दाल, पिठो, तेल, हरियो तरकारी तथा लत्ताकपडामा पटक पटक मूल्य वृद्धि भइरहेको छ । दसैंमा पनि मूल्यवृद्धि भयो, तिहारमा पनि मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले जनतामा आक्रोश थपिएको छ । सरकारी निकायले यस्तो अवस्थामा इमानदारितापूर्वक बजार अनुगमन गर्न जरुरी छ । यो बिषयमा सरकार गम्भीर बन्नु पर्ने अवस्था देखिएको छ । सरकार यो बिषयमा गम्भीर नबन्ने हो भने समस्या थप जटिल बन्न सक्छ ।

जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु नै जनता प्रति इमान्दार भएको देखिदैन । स्थानीय तहका सरकारहरुले पनि बजार अनुगमनलाई तिब्रता दिनु पर्छ । पर्वहरूमा मूल्यवृद्धि हुँदा उपभोक्ता समस्यामा पर्छन् । नेपाली जनता रमाउने भनेकै पर्वहरूमा हो । पैसा हुनेहरुलाई त पर्वहरूमा रमाइलै हुने भो तर कमाइ नहुनेहरू पनि ऋण-कर्जा गरी पर्व मनाउने गर्छन् । यस्तो बेलामा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्नु हुँदैन । कृत्रिम अभाव सिर्जना गर्नु भनेको ठूलो पाप हो । यस्तो पाप गर्नु हुँदैन ।

पैसा कमाउने मौका यहि हो भनेर बजारमा मनपरि गर्नु राम्रो होइन । कालाबजारीले गर्दा आम उपभोक्ताहरु पीडित छन् । सरकारी तहबाट मेलापर्वमा मात्र होइन, दिनहुँ जसो बजार अनुगमन हुनु पर्छ । त्यसो भयो भने मात्र कालाबजारीहरु सलबलाउन पाउँदैनन् । अब सरकार माहतहतका निकाय चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्ने हो भने व्यापारीहरूले जनता चुस्ने मौका पाउँछन् ।