व्यवस्था परिवर्तनबाट जनताले के पाए ?

-डा. डी. आर. उपाध्याय खनाल


नेपाली जनताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । कुनै दलले पनि जनताको वास्ता गरेका छैनन् । जनतामा निराशा मात्र बढ्दै गएको छ । राजनीतिका नाममा कमाउनेले कमाइरहेका छन्, रमाउने रमाइरहेका छन् । व्यवस्था परिवर्तन बलिदान दिने जनताको कुनै कदर र सम्मान छैन । जुनसुकै राजनीतिक परिवर्तनमा राजनीतिक दलहरुलाई नेपाली जनताले पूर्णरूपमा साथ दिँदै आएका छन् । तर दलहरुले जनतामाथि पटक पटक घात गर्दै आइरहेका छन् । यो भन्दा लाज लाग्ने कुरा अरु के हुन्छ ?

हरेक राजनीतिक परिवर्तनमा जनताको साथ र सहभागिता रहँदै आएको कुरा कसैले भुल्नु हुँदैन । नेपाली जनताले साथ नदिएको र सहयोग नगरेको भए कुनैपनि राजनीतिक परिवर्तन सम्भव थिएन । यो कुरा सत्य हो । २००७ साल, २०४६ साल, २०६२ र २०६३ को जनआन्दोलनमा जनताको व्यापक सहभागिता रह्यो । त्यही भएर परिवर्तन सम्भव भयो । यदि, नेपाली जनताले दल र तिनका नेतालाई पूर्ण सहयोग नगरेको भए यहाँ कुनै परिवर्तन हुँदैन्थ्यो । दलहरुले यो कुरा बुझ्न जरुरी छ । जनताको साथ पाएरै राजनीतिक व्यवस्था परिवर्तन भएको हो ।

आज आएर शासक धेरै स्वार्थी, भ्रष्ट र अवसरवादी भएका छन् । व्यवस्था परिवर्तनवाट जनताले के पाए ? जनता प्रश्न गर्दै छन् । निष्ठाको राजनीति हराउँदै गएको छ । राजनीतिक दल र तिनका नेताहरुलाई देश र आमजनताको कुनै वास्ता छैन । नेताहरुमा अकूत सम्पत्ति कमाउने र रातारात धनी हुने होडवाजी मात्र चलेको छ । यसरी हुँदैन भन्ने कुरा हो ।

अहिलेसम्म पनि जनताका समस्याप्रति कुनै दल संवेदनशील बन्न सकेनन् । उनीहरुलाई जनताका तमाम खाले समस्यासँग कुनै सरोकार छैन । दलहरु सत्तामा गएर जसरी हुन्छ लुटतन्त्र मच्चाउनेमा नै केन्द्रित छन् । आज महँगी दोब्बरले वृद्धि भएको छ l  आर्थिक परिसूचक सबै नकारात्मक अवस्थामा छन् । विदेशी मुद्राको सञ्चिती सन्तोषजनक अवस्थामा छैन । वैदेशिक सहायता घट्दो छ । जताततै विकृति नै विकृति बढ्दो छ । जनतालाई सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य र शिक्षा विचौलियाको पूर्ण नियन्त्रणमा छ । अहिलेकै दलहरु फेरि पनि चुनाव जितेर शासन सत्तामा आए भने हाम्रो भविश्य बर्बाद हुने निश्चित छ । त्यसैले जनता अब चनाखो र संवेदनशील बन्नु पर्ने देखिएको छ ।

राजनीतिका नाममा ठगी गरिरहेका जोसुकैलाई पनि अब जनताले एक एक प्रश्न गर्नुपर्ने भएको छ । जनता अब पार्टीको पछि लाग्ने होइन, आफनो विवेक प्रयोग गरेर राम्रा उम्मेदवार छान्न सक्नुपर्छ । नत्र आगामी ५ वर्ष निकै पछुताउनुपर्ने अवस्था आउन सक्छ । अहिलेका अधिकांश दल र नेता करिव करिव असफल भइसकेका छन् । गलत नेतालाई जनताले भोट दिएर कुनै हालतमा पनि जिताउनु हुँदैन । राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाइएको छ । यो राम्रो सङ्केत होइन । अब पनि दलहरु सच्चिन सकेनन् भने चुनाव मार्फत जनताले उनीहरुलाई पाखा लगाउनु पर्छ । अरु कुनै बिकल्प छैन ।