सत्तारुढ राजनीतिक दलहरुमा विवाद चर्किदै

-डा. डी. आर. उपाध्याय खनाल


यतिबेला सत्तारुढ राजनीतिक दलहरुमा विवाद चर्किदै गएको देखिन्छ । सुरुमा नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको बिषयले चर्को रुप लिएको थियो । अहिले केही सेलाएको जस्तो छ । त्यस्तै जसपामा पनि चर्को विवाद छ । डा. बावुरामले पार्टी नै छाडेर अर्को पार्टी खोल्ने चर्चा पनि सञ्चार माध्यममा देखिन्छ । काँग्रेसभित्र पनि बिवाद नै छ । दलहरुभित्र सत्ता स्वार्थका लागि विवाद भइरहेको छ । देश र जनताको हक हित र अधिकारका लागि कुनै बहस, छलफल हुँदैन ।

सत्तामा जाने अनि कसरी हुन्छ लुट्ने, त्यो ध्यान बाहेक दलहरुका अरु केही छैन । पार्टीहरु फुट्ने भनेको नै सत्ता र पदका लागि हो । आज देशमा राजनीतिक दलका नेताहरुले रमिता मात्र देखाइरहेका छन् । लोकतन्त्रमा नेताहरु धनी बन्दै जाने यो जुन गलत संस्कार र प्रवृत्ति बढ्दै गएको छ यसले अवश्य एकदिन दुर्घटना निम्त्याउने निश्चित छ । नेताहरु पद र पैसामा भुले देशको भविष्य बारे सोचेनन् । जुन कुरा आज हामीले भोग्दै र देख्दै आएका छौं । सन्तुष्ट हुने कुनै ठाउँ नै छैन । देशको बारे सोच्न सक्ने भिजन भएको नेताको आवश्यकता छ अब ।

पुराना नेताबाट अब मुलुक बन्दैन । यी नेताहरु टेष्ट भइसकेका छन् । पुराना नेताहरु बोकेर अझै पनि हामी हिँड्न छाडेनौं भने देश हाम्रो पालामा बन्दैन । पद र पैसाका लागि राजनीति भयो । यस्तो राजनीतिले मुलुकलाई निकास दिंदैन । मन्त्री पद फुस्किदा ग्वाँ ग्वाँ रुने पनि राजनीतिमा छन् । आफनो स्वार्थ बाहेक अरु नदेख्नेले देशको बिकास कसरी गर्छन् ? सबै राजनीतिक दलहरु सत्ताका लागि खुट्टा उचालिरहेका छन् । अहिले सत्तामा गएकाहरु आलोपालो मन्त्री खान खोजिरहेका छन् । आधा आधा बर्षमा मन्त्री फेरेको फेरै गर्दा जनतामा राम्रो सन्देश पटक्कै गएको छैन ।

राजनीतिक दल र तिनका नेताहरु मुलुकप्रति गम्भीर बन्नु पर्ने आवश्यकता देखिएको छ । जनता भोकै छन, रोजगारी नपाएर कयौं युवाहरु बेरोजगार छन् । जनताको बिषयमा सोचेको खै ? योग्य, क्षमतावान ब्यक्तिहरु पाखा लाग्ने, पार्टीको झोले भए सबैतिर अवसरै अवसर पाउने जुन संस्कार हामीले देखिरहेका छौं, यसले मुलुकको हित गर्दैन भन्ने कुरा हो । सत्ता र कुर्सिका लागि पार्टी फोडेर जान नेताहरु तयार छन् तर जनताको जनजीविकाको बारेमा बोल्ने आँट गर्दैनन् । अब जनताले बिकल्प पनि खोज्न सक्छन् ।

लामो समयसम्म जनताले धैर्य गरे । नेताले अब देश बनाउँछन् कि भनेर आश गर्दा गदै जनता नै दलहरुप्रति वाक्क दिक्क भए । मुलुक बनाउन त दलहरु मिलेर जानु पर्ने हो नि । कुनै चासो नै देखाउँदैनन् । देश बनाउने भनेको नै सबै मिलेर हो । सत्ता रुढ दल एमालेलाई पेलेर जान खोजिरहेको छ । चुनावसम्म गठबन्धन कायम राखेर जाने र एमालेलाई कमजोर बनाउने खेल सत्ता गठबन्धनको छ । के यसरी देश बन्ला र ? मिलेर खाने चित्त नबुझे बिरोध गर्ने नेताहरुको चिन्तन र सोच छ । अब यसरी हुँदैन । दलहरु सच्चिनु पर्छ । दलहरु इमान्दारिताका साथ अघि बढ्न सक्ने हो भने देशको अबवस्था बदल्न सक्छन् । दलका नेताहरु इमान्दार नहुँदा नै यो समस्या आएको हो ।