राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

– डा.डी.आर.उपाध्याय खनाल


राजनीतिक बिषयबस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन्, सुन्नेले सुन्छन् तर देशको भविष्य उज्ज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ । बर्षाका च्याउसरी पार्टीहरु खोलिएका छन् । राजनीतिमा सबै आउन रहर गरिरहेका छन् । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीतिक फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।

जनताको नाम भजाएर देश लुट्नेहरुको कमी छैन । देश लुट्नेहरुलाई चुनावी माध्यमबाट जनताले सजाय दिनु पर्छ । जनताले खाई नखाई राज्यलाई कर तिर्छन् तर राज्यले करको सही रुपमा सदुपयोग गर्न सकेको छैन । हाम्रो देशमा राजनीतिक दल र नेताहरु मात्र बढी भए । धेरै राजनीतिक दल र नेता मात्र भएर देशको बिकास हुन सक्दैन ।

आज युवाहरुको अभावले देशका धेरै ठाउँका जग्गा जमिनहरु बाँझा छन् । जग्गा जमिन बाझाँ राखेर बिकास र समृद्धि सम्भव छैन । कुरा गरेर मात्र हुँदैन देशको बिकास गर्न इच्छा शक्ति र स्पष्ट दृष्टिकोण पनि चाहिन्छ । अब कसैलाई पनि गफ गर्ने समय छैन l ।  यो समय भनेको काम गरेर देखाउने समय हो । बिना काम समय बर्वाद गर्नु भनेको जिन्दगी बर्वाद गर्नु हो । अहिलेका युवाहरु सचेत र प्रबिधिमा दक्ष छन् । प्रविधिले विश्वलाई साँघुरो बनाएको छ । खेतिपातीदेखि सबै कुरा अहिले प्रविधिमैत्री बन्दै छ । तर नेपालका युवाहरु रोजीरोटीका लागि परदेशमा छन् ।

युवाका बिषयमा राज्यले गम्भीर भएर सोच्ने बेला आएको छ । युवा शक्तिलाई बिदेश लखेटेर बिकास र समृद्धिका कुरा नगरे पनि हुनछ । देश बनाउन युवा चाहिन्छ । युवा बिना देश बन्न सक्दैन । संसाभरिको इतिहास हेर्दा युवाले नै देशको बिकास गरेका छन् । हामी भने लामो समयदेखि नै दु:ख कष्ट भोग्दै आएका छौं । हाम्रो देशमा राजनेता भएनन् । देशलाई सोच्ने नेताको खाँचो छ यहाँ । अब कुरा र भाषण गर्ने नेताको काम छैन ।  जनतालाई परिणाम चाहिएको छ । परिणाम दिने नेता जनताले खोजेका छन् । जनतालाई सधै दु:ख दिने नेता चाहिं चिल्ला गाडीमा कुदनुपर्ने ? यसरी देश बन्दैन भनेर मैले पटक पटक आवाज उठाउँदै आएको पनि छु । यो धेरैलाई अवगत भएको कुरा हो ।

राजनीतिक दल र तिनका नेताहरु नै बास्तवमा इमान्दार भएनन् । राजनीतिक दलका नेताहरु इमान्दार हुने हो भने देश बनाउन कुनै आइतवार कुर्नु पर्दैन । नेताहरुको गलत सोच र गलत चिन्तनले देश बर्वादीतर्फ गएको हो । अब देशलाई सही ठाउँमा लिएर बिकास गर्नुपर्छ । देशको बिकास र समृद्धि आजको आवश्यकता हो । राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ । आज देशमा कम्युनिष्टहरु धेरै फुटेका छन् । कम्युनिष्टहरु चिरा चिरामा बिभाजित छन् । हिजो बामदेव गौतमले पनि नयाँ पार्टीको नाम सार्वजनिक गरेका छन् । साना साना चिरामा बिभाजित भएर कम्युनिष्टको लक्ष्य कसरी पुरा हुन्छ ? कम्युनिष्टको नाम लिएर जनतालाई दु:ख दिने काम बाहेक अरु केही भएन । कम्युनिष्ट नेताहरु जनताको नाम लिएर धनी बन्दै गएका छन् । यस्तो भएपछि कम्युनिष्टलाई कसरी बिश्वास गर्ने ? जनतालाई ढाँटनुको पनि हद हुन्छ नि । आज सबै कुरा जनताले छर्लङ्ग देखेका छन् । जनतालाई ढाँटन अब सकिँदैन । जनता धेरै चलाख भईसकेका छन् । जनतामाथि बेइमानी गर्ने युग गइसक्यो ।