भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

– डा. डी. आर. उपाध्याय खनाल


मुलुकका सामु तमाम समस्या छन् । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भीर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन् । आज देश गम्भीर सङ्कटमा फसेको छ । देशको भविश्यको बारेमा सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन्, रातदिन पसिना बगाउने श्रमिकहरुको अवस्था कष्टकर छ । उनीहरु आफ्नो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् ।

देशमा सुशासन छैन l । जता गएपनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नुपर्ने बेला भयो । देशमा राजनीतिक दलहरु धेरै भए । संसददेखि संसद बाहिरका राजनीतिक पार्टीहरु पनि छन् । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केही हुँदैन भन्ने जनताले बिस्तारै बुझ्दै जान थालेका छन् । सरकारले मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप्रवाह प्रभावकारी बनाउन सकेको छैन । बर्तमान सरकार सबै कुरामा असफल देखिएको छ । भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै गएको छ । भ्रष्टाचार रोकिनुपर्छ, सुशासन कायम हुनु पर्छ ।

राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुगेको छ । जसको कारण शासकीय व्यवस्थामा नै गम्भीर समस्या देखिन थालेका छन् । राजनीतिक दल र विशेषगरी सत्तामा गएकाहरू कमाउधन्दामा लिप्त छन् । जनताले भने दुःख पाइरहेका छन् । शासक गैरजिम्मेवार भएपछि जनताले दुःख पाउने नै भए । उनीहरूलाई जनताले भोग्नुपरेको पीडा मर्कासँग कुनै सरोकार छैन । सरकारमा बस्नेहरु आफ्नालाई मात्रै पोस्ने काममा लिप्त हुन पुगेका छन् ।

मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । अहिलेसम्म राजनीतिक दलहरुले मुलुकलाई बनाउन सकेनन् । अब के गर्छन् थाहा छैन । दलहरुले देश र जनताको भविष्यमाथि धेरै खेलवाड गदै आएका छन् । अब दलहरु सच्चिनु पर्ने छ । यदि दलहरु र तिनका नेताहरु नसच्चिने हो भने उनीहरु आफै सिधिन्छन् । जनताले धेरै कुरा बुझिसकेका छन् । अब जनतालाई भ्रममा पार्ने र जनतामाथि बेइमानी गर्ने जमना गइसकेको छ । सरकारमा गएर दलका नेताहरुले त्यति राम्रोसंग सत्ता चलाउन सकिरहेका छैनन् । देशमा सुशासन कायम गराउन नसक्ने सरकारले अरु के गर्न सक्छ ?

विशेषगरी ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका अधिकांश नेताले नै सुशासन कायम गराउने कुरामा ध्यान दिएको देखिदैन । देशमा कुशासनको जालो छ । जनताको पीरमर्का र दुःख सुखसँग उनीहरू बेखबर जस्तै बन्दै आइरहेका छन् । बढिरहेको भ्रष्टाचार, अनियमितताले देश थला परेको छ । बेरोजगारी समस्या त्यस्तै छ । हाम्रा सामु ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल गर्नु पर्छ । अब मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । प्रमुख राजनीतिक दलमा नै विचलन आउन थालेको छ । राजनीतिक दलहरु इमान्दार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदै जान्छ । जनतामा निराशा छाउन दिनु हुँदैन ।