देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै  

-डा. डी. आर. उपाध्याय खनाल


बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागू हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधैभरि यस्तै अवस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भीर बन्नु पर्ने आवश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ ।

आज देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नुपर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढ्दै गयो भने दलहरुका लागि भोलि यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौंतारिंदै हिंडिरहेका छन् । ती बेरोजगार युवाहरुको बारेमा सरकार त्यति गम्भीर हुन सकेको छैन ।

सरकार भनेको देशको अभिभावक हो । अहिले देखिएका तमाम समस्या समाधान गर्न सरकारले कुनै ढिलाई गर्नु हुँदैन । गठबन्धनको सरकार हरेक कुरामा अलोकप्रिय बन्दै गएको छ । जनजीविकाको सवालमा सरकार कानमा तेल राखेर बसिरहेको छ । आज महंगीले जनताको ढाड सेकिरहेको छ । कम आयस्रोत हुने मान्छे शहर बजारमा टिक्न गाह्रो भैसकेको छ । मान्छेको आम्दानी भन्दा खर्च बढिरहेको छ ।

आज देशका नागरिक ठूलो आर्थिक संकटमा परिरहेका छन् । अब सबैले सोच्नुपर्ने बेला आएको छ । सर्बसाधरण नागरिकहरुलाई महंगीकै कारण चुल्हो बाल्न धौ धौ परिरहेको छ । बजेट भाषणमा पनि गरिव जनताको पक्षमा सम्वोधन हुन सकेन । आम नागरिकमा असन्तुष्टि छ । जुन सरकार आएपनि गरिव जनताको समस्या हल गर्न सकेका छैनन् । जनताका समस्या हल गर्न सक्दैनन् भने किन सरकारमा बसिरहने ?

अहिले फेरि मन्त्री हेरफेरको हल्ला चलेको छ । मन्त्री हेरफेर गरेर मात्र समस्या समाधान हुन सक्दैन । यो सत्ता स्वार्थको राजनीतिले मुलुकको हित गदैन । आलो पालो मन्त्री खाने र देश लुट्ने काम बाहेक अहिलेसम्म केही हुन सकेको छैन । आज देशभरि टाठा बाठाहरुको रजाईं मात्र चलेको छ तर जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । सबैभन्दा ठूलो समस्या यो हो ।

राजनीति भनेको समाज सेवा हो, तर यहाँ राजनीतिका नाममा ब्यापार चलेको छ । हामीले कस्तो देश बनाउन खोजीरहेका छौं ?  हामी कता जाँदै छौं ?  देशमा राजनीति ब्यवस्था परिवर्तन भएको पनि यति धेरै समय बितिसक्यो तर पनि देश र जनताले हिजोभन्दा आज दु:ख र सास्ती भोग्न परिरहेको छ । ब्यवस्था परिवर्तनबाट जनताले के पाए ? अब राजनीतिक दल र तिनका नेताहरुले जवाफ दिन सक्नु पर्छ ।

आम जनता निराश बन्दै छन् । आशा जगाउने कुनै काम दलहरुले गर्न सकेनन् । दलहरुप्रति जनताको आक्रोश छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई जनताले किन बिश्वास गरेर बिजयी बनाए ? नागरिकको यो नै दलहरुप्रति आक्रोश हो । दलहरु सत्ता स्वार्थमा चुर्लुम डुबेका छन् । उनीहरुलाई जनताको कुनै चिन्ता छैन । अब यसरी हुँदैन, दलहरु सच्चिनु पर्छ ।