पटक पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै

-डा. डी. आर. उपाध्याय खनाल


पटक पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार भाउ छोइ नसक्नु छ । ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर सबैतिर देखिएको छ। सर्बसाधरण जनतालाई महँगीको भार थेक्न हम्मेहम्मे परेको छ । दैनिक उपभोग्य वस्तुमा पर्ने तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। यस्तो भएपछि जनता के खाएर बाँच्ने ?

जनताको आयस्रोत भन्दा खर्च बढि हुदै गएको छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । रोजगार नपाएर युवाहरु सडकमा भौतारिरहेका छन । देशको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । जनताको जनजीविकाको सवालमा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । गरिव जनता महंगीका कारण बिहान बेलुकाको हात मुख जोर्न नसक्ने अबस्थामा पुगेका छन ।

देशमा काम गरेर खाने उचित बातावरण अझै निर्माण हुन सकेको छैन । सानोतिनो ब्यापार ब्यावसाय गरेर खान खोजे पनि ब्यावसाय राम्रैसंग चल्छ भन्ने कुनै ठेगान छैन । देशको यस्तो अबस्था देख्दा पिर लाग्छ । राजनीति दल र तिनका नेताहरु आफनै स्वार्थमा छन । उनीहरुले देश र जनताको कुनै वास्ता गरेको देखिदैन । आम नागरिक यतिबेला समस्यै समस्यामा पिल्सिरहेका छन ।

मुलुकमा आर्थिक संकट दिनप्रतिदिन चुलिँदै गएको छ। व्यापार घाटा बढ्दो छ। सरकारले पुँजीगत खर्च गर्न सकेको छैन। विकास निर्माण प्रायः ठप्प छ । बजेट कार्यान्वयनको अवस्था दयनिय छ । पुँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान भएको छैन। व्यवसायीहरूले बैंकबाट कर्जा पाइरहेका छैनन्। नेताहरुले राजनीति जनताका लागि नभएर आफ्नै स्वार्थका लागि गरिरहेका छन ।

सरकारले मनपरी मूल्यवृद्धि गरेर जनतामाथि अत्याचार गरेको छ । अहिले दैनिक उपभोग्य वस्तुमा पनि अचाक्ली मूल्यवृद्धि भइरहेको छ । व्यापारीहरूले जथाभावी मूल्यवृद्धि गर्दा सरकारी संयन्त्रले त्यसको प्रभावकारी अनुगमन गर्न सकिरहेको छैन । यसले सरकारी संयन्त्र पनि जनताको समस्या समाधान गर्न संवेदनशील छैन भन्ने कुराको पुष्टि गर्छ ।

सरकारले जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने विषयलाई कहिल्यै पनि प्राथमिकता राख्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल पनि पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलित हुन सकेको छैन । विद्यार्थी र युवा संगठन पनि जागरुक हुन सकिरहेका छैनन् । सरकारको गलत प्रवृत्तिविरुद्ध आम नागरिकले आवाज बुलन्द गर्नु पर्छ ।