स्थानीय तहको चुनाव नजिकिँदै

-डा. डी. आर. उपाध्याय


जति जति स्थानीय तहको चुनाव नजिकिँदै छ त्यति त्यति चहलपहल पनि बढ्दै गएको छ । शहर बजारको चोक चोक र गाउँघरको टोल टोलमा चुनावकै कुरा चलिरहेको छ । बिभिन्न राजनीतिक दल र तिनका नेताहरु घोषणापत्र मार्फत जनताको मन जित्ने कोसिस गरिरहेका छन् । तर जनता घोषणापत्रको मात्र बिश्वास गरिरहेका छैनन् । बिगतका चुनावमा पनि घोषणापत्र मार्फत जनतासँग भोट मागिएको थियो । अब जनताले परिणाम खोजिरहेका छन् । झुठा आश्वासन र गुलिया सपनाले जनता वाक्क दिक्क बन्दै आएका छन् ।

घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि जनता बिश्वस्त हुन सकेका छैनन् । कारण के हो भने घोषणापत्रमा उल्लेख भए बमोजिमका कुरा कार्यान्वयनमा आउन सकेनन् । स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकास होस् भन्ने चाहान्छन् । जनताले खोज्ने भनेको स्थानीय तहमा देखिएका समस्याको समाधान हो । जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै विश्वास गरेर भोट हाल्नुहुँदैन । राम्रा, योग्य र इमान्दार उम्मेदवारलाई भोट दिएर जिताउनु पर्छ ।

हिजोका दिनमा कुन राजनीतिक दलका नेताले के गरे ? कस्तो काम गरे ? जनताका सुख दुःखमा कतिको साथ दिए ? यी प्रश्नमाथि समीक्षा हुन जरुरी छ । संघीय शासन अनुसार पनि केन्द्रको अधिकार गाउँसम्म पुर्याउन स्थानीय तहको व्यवस्था गरिएको हो । फेरि संघीयताको मूल मर्म नै गाउँघरमा दिइने सेवा हो । यो सेवा दिने मुख्य निकाय भनेकै स्थानीय तह हो । त्यसैले स्थानीय तहको निर्वाचानको चर्चा बढेर गएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिहरुले स्थानीय तहको विकास के कति गरे प्रश्न उठाउनुपर्ने बेला हो यो । उनीहरु नै फेरि जनताको घर दैलोमा भोट माग्न आउँदै छन् ।

दलले खाली आकर्षक खालको घोषणापत्र बनाएर जनतामा अनावश्यक भ्रम छर्नुभन्दा पनि व्यवहारिक खालका कार्यक्रम ल्याउन सक्नुपर्छ । त्यसो भयो भने मात्र जनताले बिश्वास गर्न सक्छन् । उम्मेदवार छनोट गर्दा स्थानीय स्तरमा नै बसेर काम गरेको र जनताको हरेक सुख दुःखमा प्रत्यक्ष साथ दिँदै आएको व्यक्तिलाई उम्मेदवार बनाएर जिताउँदा राम्रो हुन्छ । जनताले दलको घोषणापत्रलाई मात्रै विश्वास नगरी इमान्दार र योग्य उम्मेदवारलाई जिताउने माहोल खडा गर्न सक्नु पर्छ । समय छँदै सोचविचार गरिएन भने भोलि पछुताउनु पर्ने दिन आउन सक्छ । त्यसैले हामी सबै मतदाताहरु यो बिषयमा गम्भीर बनौं ।

आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सबै मतदातालाई छ । पाँच वर्षसम्म आफ्नो गाउँठाउँको विकास गर्न आउने जनप्रतिनिधि बिचार गरेर चुनौं । अहिले हामीले बिचार गर्न सकेनौं भने कहिले गर्ने ? समय आउँछ पर्खदैन । समय र युगको माग अनुसार अघि बढौं ।