नयाँ बर्षको शुभकामना !

-डा. डी. आर. उपाध्याय


आज नयाँ बर्ष हो । नयाँ बर्षको उपलक्ष्यमा मेरो तर्फवाट सबैलाई शुभकामना दिन चाहन्छु । नयाँ बर्ष प्रवेशसँगै  हामी सबैमा खुशी र उमङ्ग छाओस् । नयाँ बर्षमा केही नयाँ काम गरेर देखाउने बर्ष पनि हो । यो नयाँ बर्ष प्रबेश गर्दा देशको उन्नति, प्रगति र बिकासको मार्गचित्र कोरियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

देशमा अघिल्लो बर्ष राजनीतिक उतार चढाव आए । पार्टीहरु बिभाजन भए । केपी ओलीको नेतृत्वमा गठन भएको बहुमतको सरकार ढलेर शेर वहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो । यही गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा छन् । सबै दलहरु यतिबेला चुनावी मैदानमा खडा छन् । दलहरु मिलेर देशमा बिकास र समृद्धि दिन सकुन् । नयाँ बर्षसँगै  हुन लागेको स्थानीय तहको निर्वाचनले हाम्रा मान्छे होइन, राम्रा मान्छे चुन्न सफल बनोस् । राजनीतिमा स्थिरता आओस् । यो हामी सबैको चाहना पनि हो ।

अस्थिर राजनीतिले देशको हित गदैन । बिगतमा पनि पटक पटक अस्थिर राजनीतिले देश बर्बाद भयो । अहिले पनि देश अस्थिर छ । जवसम्म राजनीति स्थिरतामा जादैन् तवसम्म बिकास हुँदैन । यो सबैलाई अवगत भएकै कुरा हो । देशमा शान्ति, बिकास र समृद्धि नागरिकको सपना हो । यो सपना पूरा गर्न राजनीतिक दल र तिनका नेताहरु इमान्दार हुनु पर्छ । नेताहरु इमान्दार नभएसम्म देश बन्दैन । जुन देशमा नेताहरु बेइमान हुन्छन् त्यस देशका जनताले दु:ख पाइरहेका हुन्छन् ।

आज हाम्रो देशले पनि त्यसैगरी दु:ख भोगिरहेको छ । आज देशमा अर्थतन्त्र चलायमान हुन सकेको छैन । सीमित ब्यक्तिले पैसा च्यापेर बसेको अबस्थाले पनि यो स्थिती आएको भन्ने सुनिन्छ । नेपाली जनताले महंगीको सामना गरिरहनु परेको छ । दूरदर्शी राजनेताको अभावले देश पछाडि परिरहेको छ । महंगीले आम नागरिक त्यति उत्साहित छैनन् । जनतालाई बिहान बेलुकाको छाक टार्ने समस्याले पिरोलिरहेको छ । अब नेताहरुले जनतालाई भाषण होइन, परिणाम दिन सिक्नु पर्छ ।

जनताको आँखामा छारो हालेर बटुलेको भोटले शान्ति मिल्दैन । अभाव भयो भने जनता राज्यसँग असन्तुष्ट हुन्छन् । असन्तुष्टिले बिद्रोह जन्माउँछ । यो कुरा राज्यले समय छँदै बुझ्न सक्नु पर्छ । जनतालाई भोकै राखेर नेताहरु गाडीमा कुदेको सुहाउँदैन । जनताले नेताहरुलाई सरापिरहेका छन् । अघिल्लो सालमा पनि जनता कुनै सरकारसँग पनि सन्तुष्ट हुन सकेनन् ।

सरकार जनताको जनजीविकाको सवालमा त्यति गम्भीर हुन सकेन । देशमा दिगो शान्ति कायम गर्ने हो भने राज्यले गम्भिरतापूर्वक सोच्नु पर्छ । देश बनाउन त्यति सजिलो छैन । सबै राजनीतिक शक्तिलाई नेतृत्वबर्गले मिलाएर लैजान सक्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको नयाँ बर्ष प्रबेशसँगै सद्बुद्धि पलाओस् । देशलाई माथि उठाउन सबै दल मिलेर जान सिकुन् । नयाँ बर्ष प्रवेशसँगै सबैमा सुख, शान्ति छाओस् यही छ मेरो नयाँ बर्षको शुभकामना !