जनताको जनजीविकाको सवालमा केही कुरा

-डा. डी. आर. उपाध्याय


पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आयस्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भएपछि बाँच्न गाह्रो हुन थाल्यो । जनताको ढाड सेकिने गरी यसरी महंगी बढ्नु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । सरकार अब यो बिषयमा गम्भीर देखिनुपर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ ।

महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौ छ । यतिबेला विविध खाले समस्याबाट जनता पीडित छन् । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नुपर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनुपर्ने हो, तर त्यस्तो देखिएन ।

सरकार जनताको अभिभावक हो । सरकारले जनताको दु:खमा साथ दिनु पर्छ । यो सरकारको कर्तब्य र दायित्व दुबै हो । जनताका समस्या समाधान गर्ने कुरामा सरकार चुक्यो भने जनताले राम्रो मान्ने छैनन् । सरकारलाई भरीसके नागरिकले असफल हुन बाट बचाउँनु पर्छ । मन्त्रालयमा मन्त्री छन् तर उनीहरू आमजनताको समस्या समाधान गर्ने कुरामा त्यति ध्यान दिदैनन् । जनतामा असन्तुष्टि बढ्दै गएको छ । जनतालाई निराश हुन दिनु हुँदैन । जनता निराश भए भने देशमा समस्या उत्पन्न हुने खतरा आउन सक्छ । बेलैमा राजनीतिक दल र तिनका नेताहरुले सोच्नुपर्ने हुन्छ ।

कर्मचारीहरु जागिर पचाउने काम मात्र गरिरहेका छन् । फटाफट जनताका काम हुन नसक्दा जनता हैरानीमा छन् । स्थानीय तहदेखि केन्द्रसम्म कुनैपनि काम फटाफट हुन सकिरहेका छैनन् । ‘सरकारी काम कहिले जाला घाम’ यो उखान कर्मचारीमा लागू हुन्छ । आफना काम समयमा हुन नसक्दा जनताले मुलुकमा सरकार नै नभएको अनुभूति गरिरहेका छन् । मन्त्री, सचिवहरू मन्त्रालयको कामलाई थाँती राखेर गोष्ठी, सेमिनार तथा अन्य औपचारिक कार्यक्रममा ब्यस्त छन् । मन्त्री, सचिवहरू अत्यावश्यक बाहेकका अन्य कार्यक्रम, सभा, गोष्ठी, सेमिनारमा सहभागी हुनु हुँदैन ।

अहिले देशमा जुन किसिमले महंगी बढिरहेको छ, यो जनताले धान्न नसक्ने अबस्थामा पुगेको छ । रोजगारी छैन, ब्यापार ब्यवसाय त्यति राम्रोसँग चलेको छैन । बिद्यार्थीहरुको समस्या झन् बढ्दो छ । उनीहरुलाई बिहान बेलुका दाल भात खान समेत समस्या हुन थालेको छ । किन कि सबै चिज महंगो भएपछि जीविका चलाउने कसरी ?

देशमा ब्यवस्था बदलियो तर अवस्था बदलिन नसकेपछि जनता निराश हुन्छन् । के गरेर हुन्छ पटक पटक बढिरहेको महंगी घटाउने बिषयमा छलफल, बहस गर्नुपर्ने बेला भयो । सरकारले जनतालाई सत्यतथ्य जानकारी दिनुपर्ने हुन्छ यो यो कारणले महंगी बढ्यो भनेर । चुनावको मुखमा यसरी अचाक्ली महंगी बढ्नुले गठबन्धन दललाई घाटा हुन सक्छ । पाँच दलीय गठबन्धन सरकारले बेलैमा सोचोस् ।