प्रम देउवाको भारत भ्रमण

-डा. डी. आर. उपाध्याय


आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन ।

सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा पुग्ने आशा गरिएको छ । प्रधानमन्त्री देउवाले आज चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण अहिले दुवै देशका लागि महत्वपूर्ण विषय भएको छ । प्रधानमन्त्री देउवाको यस तीन दिने औपचारिक भ्रमणले दुवै मुलुकबीचको आपसी सम्बन्ध थप प्रगाढ र सुदृढ हुने अपेक्षा गरिएको छ । आशा गरौं, दुई मुलुकका सरकार प्रमुखबीच पारस्परिक हितका विषय अगाडि बढ्ने छन् ।

भ्रमणका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयवस्तुमा गहन एवं गम्भीर छलफल हुने छन । नेपाल र भारतबीचको प्राचीन कालदेखिको सम्बन्ध छ । यस्तो अवस्थामा यो सम्बन्धको संरक्षण एवं जगेर्ना गर्नु दुवै मुलुकको प्राथमिकता एवं दायित्व हो । दुई सार्वभौम सम्पन्न मुलुकबीच ठूला र सानाको सम्बन्ध हुँदैन । यहाँ मित्रता, सहयोग, विश्वास अनि सद्भावको अपेक्षित हुन्छ । प्रधानमन्त्री देउवाको भ्रमणबाट दुवै मुलुकको सम्बन्धले नयाँ आयाम बन्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालले भारतसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राखेको छ । यसैगरी भारतीय व्यापारिक समुदायलाई प्रधानमन्त्री देउवाबाट हुने सम्बोधनमा नेपालमा वैदेशिक लगानीका निम्ति उपयोगी वातावरण बन्न सक्नेछ । यसबाट भारतीय लगानीकर्ता नेपालमा थप लगानी गर्न आकर्षित हुन सक्ने वातावरण बन्न सक्नेछ । नरेन्द्र मोदी भारतमा सुविधाजनक बहुमतसहित प्रधानमन्त्री निर्वाचित हुनुभएपछि उहाँबाट चार पटक नेपालको भ्रमण भइसकेको छ । भारतबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायतका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त छ । भारतको स्वतन्त्रता अनि हाम्रो प्रजातन्त्र स्थापना र सबलीकरणका अभ्यासमा एकअर्काप्रति आवश्यक सहयोग पनि भएको हो । यस्तो हितकर मित्र र प्रगाढ पारस्परिक सम्बन्ध भएको देशमा भ्रमण हुनु स्वाभाविक हो र निरन्तर रहनुपर्छ ।