नेपालको राजनीति र अवसरवादी चरित्र

-डा. डी. आर. उपाध्याय


निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजोआज राजनीतिक दाउपेचका लागि एक पार्टी छोड्ने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँट्ने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँट्ने र भोट बटुलेर कुर्सीमा बस्ने दाउमा नेताहरु लागेको लागै छन् ।

यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालिसके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ ? पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले न त राजनीति गर्न सक्छ न त चुनाव लड्न नै । पैसा नहुनेले हत्तपत्त चुनावमा लड्ने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुँदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोराछोरी यत्रो महंगो चुनाव लड्न कसरी सक्छन् ?

गरिवले निर्वाचनमा उम्मेदवारको टिकट पाउनै मुस्किल छ पाइहाले पनि चुनाव जित्न मुस्किल छ । स्थानीय निर्वाचनको मिति पनि नजिकिदै छ । यतिबेला दल अदलबदल गर्ने क्रमले तीव्रता पाउँदै छ । दिनहुँ जस्तो पार्टी प्रवेश कार्यक्रम भैरहेका छन् । एउटा पार्टीमा अवसर नपाएकाहरु अर्को पार्टीमा जाने गरेका छन् । पार्टी परिर्वतन गरिरहने नेताहरुलाई जनताले कसरी बिश्वास गर्ने ? सबै दलहरुमा निष्ठा र सिद्धान्त हराउँदै गइरहेको देखिन्छ ।

बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु अवसरको खोजीमा छन् । हामीले देखिरहेका छौं, एक पार्टीबाट अर्को पार्टी प्रवेश गर्ने र अवसर लिने क्रम बढेको छ । दलहरुले पार्टीको नीति र सिद्धान्तको बारेमा कार्यकर्तालाई बुझाउन नसक्दा यस्तो भएको हो । कम्युनिष्टहरु कांग्रेस पार्टी प्रवेश गरिरहेका छन् भने कांग्रेसका कार्यकर्ता कम्युनिष्टहरुमा प्रवेश गरिरहेका छन् । दलका नेताहरुले आ-आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा आफना नेता कार्यकर्तालाई बुझाउन सक्नु पर्छ । यदी दलका नेताहरुले आ-आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा समयमै आफना नेता कार्यकर्तालाई बुझाउन सकेनन् भने दल अदलबदल गर्ने क्रमले निरन्तरता पाउने छ । एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने बित्तिकै उम्मेदवारी पाइन्छ कि भनेर नेताहरु अबसर खोजिरहेका छन् । लामो समयदेखि राजनीति गरिरहेका नेताहरु नै यसो गरिरहेका छन्  ।

पार्टीको नीति र सिद्धान्तमा हिँड्न नसक्नेले के को राजनीति गर्ने ? कार्यकर्ताहरु सधैं नेताको पछि लाग्ने तर उनीहरुले अबसर नपाउने देखिएको छ । जनाधार नभएका नेता तथा कार्यकर्ताहरुले नै दल अदलबदल गरिरहेका छन् । यस्ता क्रियाकलापले देशलाई अघि बढाउन सकिदैन । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारमा समेत असर पर्ने देखिन्छ । नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुँदैछन् । अवसरवादी चरित्र भएका नेताहरुलाई जनताले बहिष्कार गर्ने आँट गर्नु पर्छ । यस्तो चरित्र भएकाहरु सधैं अवसरकै खोजिमा हुन्छन् । तिनीहरुबाट जनताले कुनै आश नगरे पनि हुन्छ । अवसरवादी चरित्र बोकेका व्यक्तिहरु पार्टीको हितमा हुँदैनन् । त्यसो भएकाले दलहरुले बेलैमा सोच्ने बेला आइसकेको छ ।