दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेण्डा खै ?

-डा. डी. आर. उपाध्याय


यतिबेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दै छन् । देशका बिभिन्न ठाउँहरुमा दलहरुले आ-आफना भेला प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । तर चुनावप्रति जनताको त्यति उत्साह भएको देखिदैन । बिगतमा दलहरुले दिएका आश्वासन अझै पूरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जव चुनाव आउँछ तव मात्र जनताको घर आँगनमा पुग्छन् । चुनाव सकिएपछि फर्केर पनि जाँदैनन् ।

स्थानीय निर्वाचनको समय नजिकिंदै छ । तर पनि अहिलेसम्म राजनीतिक दलहरुले आ-आफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेण्डा अहिले छैन । चुनाबी एजेण्डा खै ? घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अल्मलिएका छन् । राम्रो नीति र कार्यक्रम नभएपछि जनताले हराउलान् भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनिरहेका छन् ।

जनतालाई बिश्वास दिलाउने भरपर्दो एजेण्डा अझैसम्म फेला पार्न सकिरहेका छैनन् । दलहरु अहिले जोडतोडका साथ चुनावी अभियानमा जुटेका छन् । अहिले स्थानीय क्षेत्रमा चुनाबी चहलपहल बढ्न थालेको छ । आ-आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न दलका नेताहरुको दौडधुप बढिरहेको छ । राजनीतिक दलका नेताहरु अहिले घोषणापत्रबिना नै चुनावी सभा आयोजना गर्न पुगिरहेका छन् । विचार र योजना बिना जनताबीच गएर मात्र हुँदैन । जनताले नेताहरुलाई धेरै प्रश्न सोध्नेवाला छन् । जनतालाई जवाफ दिने आँट गरेर मात्र नेताहरु गाउँ पस होइन भने समस्या पर्ला ।

राजनीतिक दलहरु विचारविहीन छन् । बिगतका आश्वासन पूरा नहुँदा जनताले नेताको खुलेर आलोचना गर्न थालिसकेका छन् । यो स्वाभाबिक पनि हो । नेताहरुमा चेत पलाउन सकेन । दलका नेता एकअर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्ने काममा लागिरहेका छन् । राजनीतिक पार्टीहरु जनताप्रति इमान्दार बन्न नसक्दा जनतामा निराशा छ ।

संविधानमा समाजवादी यात्रामा देश अघि बढ्ने भनिएको छ । तर अहिलेसम्म यो यात्रामा अघि बढ्ने कुनै सुरसार छैन । कुरा मात्र गरेर हिँड्ने हो कि काम पनि गर्ने हो ? राजनीतिक दलहरुले समाजवाद निर्माणको दिशामा अघि बढ्ने त कुरा गरिरहेका छन् । खै त्यसका लागि चाहिने आधार निर्माण गरेको ? समाजवाद निर्माणका आधार, त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम खै ? नेपाली जनताले विकास निर्माणका खाका खोजिरहेका छन् । देशमा सङ्घीयता सहितको गणतन्त्र त आयो, तर त्यो जनतालाई आयो कि नेतालाई ? प्रश्न उठेका छन् ।