आशा र निराशाका बीच गठबन्धनको राजनीति

-डा. डी. आर. उपाध्याय


वर्तमान अवस्थामा नेपाली कांग्रेस एक्लै चुनावमा गएपनि सबैभन्दा बढी पालिका जित्न सक्छ । तर पनि ऊ गठबन्धन कायम राखेर चुनावमा जान खोजेको छ । गठबन्धनका अन्य दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै चुनाव लड्न डराइरहेका छन् । उनीहरू अहिलेसम्म मिलेर चुनावमा जाने मनस्थितीमा छन् । एमसीसी पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आएको छ । स्थानीय तहको चुनावमा गठबन्धन दलभित्र भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना पनि छ । त्यसैले आशा र निराशाका बीच गठबन्धनको राजनीति अघि बढिरहेको छ ।

अहिले पनि गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर चुनावमा जान चाहेका छन् भने नेपाली काँग्रेसका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् । आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने रणनीतिमा काँग्रेस रहेको बुझिन्छ । अब निर्वाचन नजिकै आइसकेको छ । स्थानीय तहको निर्वाचनको त तिथिमिति पनि घोषणा भइसकेको छ । सबै राजनीतिक दल आ-आफ्नो तयारीमा लागि परिरहेका छन् । यस्तो अवस्थामा साना साना दल आत्तिनु स्वाभाविक पनि हो ।

स्थानीय तहको चुनावका बिषयमा गठबन्धनका बीचमा अहिलेसम्म स्पष्ट साझा धारणा आउन सकेको छैन । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै स्थानीय तह निर्वाचन लक्षित एक महिने चुनावी कार्यक्रम अघि बढाइसकेको छ । नेपाली कांग्रेस ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्दै हिंडिरहेको छ । उता प्रतिपक्षी दल नेकपा एमाले पनि जनताका बीचमा आफ्ना कार्यक्रम लिएर जान थालिसकेको छ ।

अहिले जनताका बीचमा पुगेर जनताका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने बेला हो । त्यसो भयो भने पनि चुनावी माहोल बन्न सक्छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा गरिसकेको छ । सुरक्षाका लागि पनि तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । नेपाली कांग्रेस र प्रतिपक्षी एमालेबाहेकका राजनीतिक दललाई निर्वाचनमा जान कठिनाइ परिरहेको छ । साना दल चुनावमा जान सकिरहेका छैनन् । उनीहरू गठबन्धन बिना चुनावमा जाने आँट गरिरहेका छैनन् । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकिकृत समाजवादीले गठबन्धनबाट चुनावमा जाने बाटो कुरेर बसिरहेका छन् ।