एमसीसीले ततायो सडक र राजनीति

डा. डी. आर. उपाध्याय


प्रधानमन्त्री शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) जसरी भएपनि संसदबाट पारित गराउनतिर नै ध्यान केन्दित गरिरहनुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि उहाँले बेला बेलामा संवाद अघि बढाइरहनुभएको छ । आज एमसीसीकै कारण मुलुकको राजनीति तरंगित छ । भोली नेपाली राजनीति के हुन्छ यसै भन्न सकिने अबस्था छैन । यसले हरेक पार्टी, गठबन्धनमा समेत विभाजन ल्याउने संकेत देखिएको छ ।

राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना देखिदै छ । अहिले सत्तागठबन्धन नै संकटमा छ । यही कारणले भोली दलका नेताहरु टुटफुट हुन सक्छन् । राजनीतिक ध्रुवीकरण बढेर गयो भने देश संकटमा पर्ने सम्भावना छ । त्यसैले राजनीतिक दलहरु गम्भिर बन्न जरुरी छ । सत्ता गठबन्धन त धरापमा परिसक्यो । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र तीव्र मतमतान्तर देखापरिरहेको छ । प्रम देउवा गठबन्धन जोगाउनेभन्दा पनि एमसीसी जसरी भएपनि पारित गराउने रणनीतिमा हुनुहुन्छ । यसले द्वन्द्व निम्त्याउन सक्छ ।

प्रम देउवाले एमसीसीको एजेन्डामा प्रतिपक्षी दल एमालेको सहयोग मागिरहनुभएको छ । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरु पटक पटक भेटघाट गरिरहेका छन् । प्रम देउवाले हिजो बेलुका एमाले अध्यक्ष ओलीलाई बालुवाटार बोलाएर संवादमा जुटे । प्रम देउवा र ओली बीच भद्र सहमति भएको कुरा पनि बाहिर आइरहेका छन् । बेला बेलामा राजनीतिले कसैलाई नजिक ल्याउने र कसैलाई टाढा पुर्याउने गरिरहेको छ ।

एमसीसी संसद्मा अनुमोदनका लागि टेबुल गरिएको छ । आज यो बिषयले बहस र मत विभाजनको स्थिति उत्पन्न गराएको छ । जनताले चुनेका जनप्रतिनिधिको सार्वभौम संसदले देशको हितमा फैसला गरोस् भन्ने जनताको माग छ । सडकबाट जनताले एमसीसी पारित गर्न हुँदैन भन्दै चर्को आवाज र सडक प्रर्दशन गरिरहेका छन् । प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा धेरै घाइते भएका छन् । यसले समस्या निम्त्याउने देखायो । यो विषय सार्वजनिक बहसको विषय बनेको छ ।

हाम्रा देशका नेताहरु दूरदर्शी हुन नसक्दा हामीले बेला बेलामा दु:ख पाइरहेका छौं । अझै कति दु:ख भोग्नुपर्ने हो थाहा छैन । जनता आर्कोशित बनेर सडकमा छन् । एमसीसी पास गर्ने नेताहरुलाई आ-आफनो निर्वाचन क्षेत्रमा प्रबेश गर्न नदिने जनताले सडकबाट भनिरहेका छन् । सडकबाट खबरदारी गरिरहेका छन् । सडक यसरी तातेको छ की दुनियाको ध्यान खिचिरहेको छ । अब समयमै दलहरुले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । मुलुक बर्बाद पार्ने काम कसैले गर्नु हुदैन । सत्ता र कुर्सी भन्दा देश ठूलो हो । देश रहे मात्र सत्ता र कुसी पाइन्छ । अब बिबेक पुर्याउने बेला भएको छ । हतारमा कुनै पनि काम गर्नु हुदैन, भोली पछुताउनु पर्ने हुन्छ ।