मिल्न नसक्नु एमालेको दुर्भाग्य

-डा. डी. आर. उपाध्याय


नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पार्टीभित्र देखिएको बिवाद झन्झन्  उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्षबीच फोर्स गठन गर्ने कुरामा प्रतिस्पर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन् । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन् कहिले बिष्णु पौडेल । तरपनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझै बाहिर आउन सकेको छैन ।

पछिल्लो राजनीतिक वातावरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने कामदेखि देउवालाई प्रधानमन्त्री बनाउनेसम्म नेपालको ठूलो भूमिका र योगदान छ । पार्टीभित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै देखिएको छैन । एमाले पार्टीभित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले विद्रोह गर्दै आएका छन् । तर ओली पक्षले माधव समूहलाई निकाल्न पनि सकेको छैन र समेट्न पनि सकेको छैन । अध्यक्ष ओली यतिबेला धेरै अफ्ठ्यारोमा परेका छन् । पार्टी नमिले आगामी चुनावमा आफ्नो पार्टी पत्तासाप हुने अनुमान ओलीले लगाएका छन् । आगामी चुनावमा बहुमत ल्याउनका लागि भएपनि पार्टी एक ढिक्का बनाउनु पर्ने बाध्यता ओलीमाथि छ ।

यतिबेला हरेक कुराले ओलीमा तनाव बढेको देखिन्छ । यो सबै कुरा निम्तिनुमा ओलीको अहम, दम्भ र अहंकारले नै हो । दम्भको राजनीति ओलीले नगरेको भए न नेकपा फुट्थ्यो न एमाले । सबै कुरा घमण्डले खाएको हो । आफू र आफ्ना मात्र ठीक अरु सबै बेठीक यस्ता किसिमका गलत ब्यवहारले गर्दा ओलीको राजनीति ओरालो लागेको हो । पार्टी एक नहुँदासम्म उनी अब उठ्न सक्ने अवस्था देखिदैन । दुई तिहाई बहुमतको सरकार समेत बचाउन नसक्नु नै ओलीको दुर्भाग्य हो । उनकै कारण एमाले नामको पार्टी उठ्नै नसक्ने गरी धराशयी हुने अवस्थामा पुग्दैछ । ओलीको बोली र व्यवहारले पार्टी एकता होला जस्तो देखिदैन । यता नेपालले अध्यक्ष होइन, अधिकार खोजेको बताउँदै आएका छन् । अधिकार कस्तो हो त्यो भने बताएका छैनन् ।

नेपाली जनताको आशा र भरोसामाथि कुठाराघात भएको छ । जनताले बिकास, समृद्धि र सुशासन कायम होला भनेर दुई तिहाइको बहुमत दिए l त्यो बहुमतको सरकार पच्न नसकेर ओलीले दईपटक सम्म संसद बिघटन गरे । सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएर अहिले मुलुक सही बाटोमा फर्किएको छ । ओलीका गलत कदमले लोकतन्त्र नै गुम्ने खतरा थियो । त्यो बच्यो, यो नै ठूलो कुरा हो । हाल अध्यक्ष ओली केन्द्रदेखि प्रदेशसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । त्यसैले माधव समूहलाई फकाएर पार्टीमा फर्काउने रणनीतिमा ओली छन् । माधब नेपालले ओलीका कुरामा टेर पुच्छर लाएका छैनन् ।

एमालेभित्र झगडा हुन थालेको लामो समय भयो । अब समयमै यसको व्यवस्थापन गर्न नसके आगामी चुनावसम्म एमाले नामको पार्टी धरहराबाट हेर्नु पर्ने अवस्था आउन सक्छ । झण्डै दुई तिहाई जनमत जुटाएर सत्तारोहण गरेका ओली तीनवर्ष पूरा हुँदा नहुँदै आफ्नै दम्भ र अहङ्कारका कारण बहुमत गुमाउँदै लज्जास्पद अल्पमतमा झरेर बहिर्गमित भए । ओलीले दुई तिहाइको बहुमत त पाए, तर धान्न भने सकेनन् । फलतः ‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ को नियति भोग्दैछन् । हरेक समय आफैँले सोचे जस्तो कहिले हुँदैन । एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने निश्चित जस्तै छ । काङ्ग्रेस, एमाओवादी केन्द्र र जसपाबीच मन्त्रिमण्डलको भागबन्डा टुङ्गो लाग्दै छ । सत्ता गठबन्धनको मुख्य धार माधव समूहको अलमलको असर सरकार गठनमा परेको बुझिन्छ । माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ । तर, कांग्रेस, माओवादी अब माधव समूहलाई पर्खेर बस्न नहुने पक्षमा पुगेका छन् । माधव समूहलाई संवैधानिक निकाय लगायतका सरकारी पदहरूमा समेटेर भएपनि अघि बढ्नुपर्ने उनीहरूको बुझाइ छ ।