मनोवल गिराउने खालका कुनैपनि सामग्री पोष्ट नगरौं

-डा. डीआर उपाध्याय


यतिबेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुज्रिरहेका छौं । अझै कति गुज्रिनपर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छट्पटी लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुज्रिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाएपछि पैसा आउँदैन l  पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिनभरि  काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीविवर्गको त यतिबेला झन् बिजोक छ ।

राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझ्याउन ब्यस्त छन् । उनीहरुलाई जनताको पीरमर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ । खुल्ला आकाशमुनि घुम्न कस्लाई रहर हुदैन र ? आफूले गरिरहेको काममा समेत फर्कन सकिरहेका छैनौं । दोस्रोपटक फैलिएको कोरोनाको नयाँ भेरियन्ट संक्रमण धेरै डरलाग्दो रुपमा फैलदो छ । यसको रोकथामका लागि सबै क्षेत्रबाट हर प्रयास जारी छ । तरपनि अझै सोचे अनुसार कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन । यो नै चिन्ताको बिषय हो ।

संक्रमणबाट आफैं जोगिनुको विकल्प छैन । संक्रमणबाट जोगिनु नै ठूलो कुरा हो । निषेधाज्ञाको यो बेलामा प्रायजसो हामी सामाजिक सञ्जालमा भुल्ने गरेका छौं । यतिबेला मन भुलाउने साथी भनेको सामाजिक सञ्जाल बनेको छ । त्यसैले यतिबेला हामी सबैलाई सामाजिक सञ्जालले समय बिताउन सहज बनाएको छ । सामाजिक संजाललाई सही सदुपयोग गर्न जानिएन भने यसले नराम्रो रुप पनि लिन सक्छ । सामाजिक संजालमा जे पायो त्यही पोष्ट गर्ने बिकृति पनि बढ्दो छ । यस्ता खालका बिकृति रोक्ने काममा सवै सचेत बन्नु पनि पर्छ । राम्रा कुरा पोष्ट गर्न यो एउटा भरपर्दो माध्यम पनि बनेको छ । फेसबुक, टिकटक, ट्विटर, म्यासेन्जर, भारइबर लगायत यी सबै सामाजिक सञ्जाल हुन् । यीनको सही रुपमा सदुपयोग गर्न सकियो भने राम्रो हुन्छ ।

यो २१औं शताव्दीमा सामाजिक सञ्जालको विकास र विस्तारले हामीलाई धेरै फाइदा पुयाएको छ । यो युगका हामी भाग्यमानी मान्छे पनि हौं । हामीले प्रविधिलाई ह्दयदेखि धन्यवाद दिनु पर्छ । सामाजिक संजालका राम्रा नराम्रा दुवै पक्ष छन् । यसलाई कसरी लिने त्यो आफनो कुरा हो । पछिल्लो समय सामाजिक सञ्जालमा आउने गलत कुराले मानिसलाई आतंकित पनि बनाएको छ । मान्छे कस्तो अवस्थामा हुन्छ, चाहिने नचाहिने पोष्टले मानसिक तनावसमेत दिन थालेको छ । कोरोना महामारीमा कसरी ज्यान जोगाउने भन्ने चिन्ता सबैलाई छ । यो बेलामा सामाजिक सञ्जालमा आउने गरेका शवका तस्विर र आत्माबल घट्ने पोस्टले पीडा माथि पीडा थप्दै छ । त्यसमाथि झनै महामारीले आफन्त गुमाएकाहरूलाई त सामाजिक सञ्जालमा आएका मृतकका तस्विर र लेखेका शब्दले मनोबल गिर्ने र हतोत्साही बनाउने काम गरेको छ ।

आजभोलि त बिहान उठ्नासाथ खोलिने सामाजिक सञ्जालमा समवेदना र श्रद्धाञ्जलिका शब्द बाहेक अरु केही देखिदैन । यस्ता खालका पोष्टले आम नागरिकको मनोवल घट्ने काम गर्छ । यस्तो माहामारीका बेलामा कसैले मृतकका फोटा र अस्पतालमा उपचार भैइरहेको फोटा खिचेर पोष्ट गर्दा मनोवल गिरेर आउँछ । मनोवल गिराउने काम कसैले नगरौं । मेरो बिन्ति छ, यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं । धेरै मान्छे मनोवलले बाँचेका छन् । मनोवल भन्दा ठूलो कुरा यो संसारमा अरु केही छैन । आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं ।