आज गणतन्त्र दिवसको अवसरमा मेरो तर्फबाट सबैलाई शुभकामना

-डा. डीआर उपाध्याय


आज गणतन्त्र ल्याएको दिन । गणतन्त्र दिवस यो ऐतिहासिक आजको दिनमा सवै गणतन्त्रवादी शक्तिहरु खुशी हुने दिन हो । संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालेर गणतान्त्रिक अभ्यासमा मुलुक प्रवेश गरेको १३ वर्ष पूरा गरेर १४ बर्षमा प्रवेश भएको छ । यो गणतन्त्र २०६२, ०६३ को जनआन्दोलन २ को बलमा आएको हो । गणतन्त्र ल्याउन नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदान भएको छ । यो गणतन्त्र त्यसै आएको होइन l अहिले गणतन्त्रमाथि खेलवाड गर्ने तत्वहरु पनि छन् । प्रतिगामी तत्वहरु पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समयदेखि लागिरहेका छन् । तर उनीहरुको प्रयास असफल हुँदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यतिबेला कमजोर भएको हो कि जस्तो देखिएको छ ।

अहिले संसद बिघटन भएको अवस्थामा छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै सवैभन्दा उत्तम ब्यवस्था हो । दल र तिनका नेताहरुले शासन व्यवस्था राम्रोसंग चलाउन नसक्दा अपेक्षित परिणाम आउन भने सकेको छैन । परिणाम के भएको छ भने जनता ब्यवस्थाप्रति पूरै निराश भए । जनआन्दोलनमा सहभागी भएर गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेका जनता नै यतिबेला निराशामा छन् । जनता निराश हुनु भनेको यो ब्यवस्थामाथि खतरा हो । जनताको बलबाट परिवर्तन भएको हो । यो कुरा दलहरुले भुल्नु हुँदैन । यी कुरा दलहरुले भुल्नाले जनतामा बितृष्णा उत्पन्न भएको छ । राजनीतिक व्यवस्थाप्रतिको आकर्षणमा कमी आएको छ । व्यवस्था परिवर्तन त भयो तर जनताको अवस्थामा परिवर्तन आउन सकेन । अहिले उठेको प्रश्न हो यो । राजनीतिक क्रियाकलाप हेरेर आममानिस वाक्कदिक्क भएका छन् । नेताहरू सत्ता र कुर्सीको खेलमा छन । यता सर्वसाधारण भने बिहानबेलुको हातमुख कसरी जोड्ने भन्ने चिन्तामा छन् ।

गणतन्त्र आफैमा राम्रो ब्यवस्था हो तर दल र तिनका नेताहरुले माथिल्लो पदमा पुगेर पनि आममानिसको जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन् । जसले गर्दा जनता निराश र आक्रोशित छन् । यतिबेला नेताहरुको कारण व्यवस्था विरोधीहरूले टाउको उठाउने अवसर पाएका छन् । यतिबेला गणतन्त्रको प्रतीक-राष्ट्रपति संस्था सबैभन्दा विवाद र आलोचनाको केन्द्रबिन्दुमा छ l चौतर्फी आलोचना, राजनीतिक आरोप-प्रत्यारोप र विवादको घेराबन्दीले संस्थाको साख घटाउने काम भइरहेको छ । संविधानको संरक्षक र राष्ट्रकै अभिभावकका रूपमा निष्पक्ष भूमिकामा रहनुपर्ने राष्ट्रपतिमाथि नै गम्भीर प्रश्न उठिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर गणतन्त्रका विरोधीहरूले खेल्ने ठाउँ पाएका छन् ।

राष्ट्रपति संस्थालाई आलोचना, विवादभन्दा माथि राखनु पर्छ । राष्ट्रपतिलाई बिवादमा ल्याउने काम भयो । गणतन्त्रलाई संस्थागत गर्ने काममा स्वयं राष्ट्रपति, सरकार र राजनीतिक दलहरू चुक्दै छन् । सरकारको सिफारिसमा भएका एकपछि अर्का विवादित कदमलाई राष्ट्रपतिले आँखा चिम्लेर सदर गर्दै जाने जुन किसिमको गलत काम गदै आएकी छन् त्यसले उनी आफै विवादमा तानिन पुगेकी छन् । आज गणतन्त्र दिवसको अवसरमा मेरो तर्फबाट सबैलाई शुभकामना !