सरोकारवाला निकाय चनाखो र उपभोक्ता सचेत बनौं

-डा. डीआर उपाध्याय


केही समय अघिदेखि कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिलेसम्म महामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन् । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ । बिहान बेलुकाको हात मुख जोड्न समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन् । आज देशको राजनीति सही ढंगले अघि बढ्न सकिरहेको छैन ।

राजनीति सही ढंगले अघि बढ्न नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन् । शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन् । नेताले जे गर्दा पनि नागरिक चुप लागेर बस्ने कारणले गर्दा नै राजनीतिमा यस्तो बिकृति आएको हो । नागरिक जाग्न नसक्नु नै अहिलेको समस्या हो । अहिले राजनीति वृत्तमा जे देखिएको छ, त्यसले जनतामा निराशा उत्पन्न गराएको छ । महामारीमा नागरिकको जीउ ज्यान जोगाउनेतर्फ लाग्नुपर्ने समय सरकार र राजनीतिक दलको ध्यान अन्तै मोडिएको छ । जसका कारण कोरोना संक्रमण फैलिएको छ । बिरामीहरुको समयमा उपचार नपाएर ज्यान गएको छ । कोरोना माहामारीको मौका छोपेर हरेक क्षेत्रमा बेथिति बढ्न थालेको छ । महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छट्पटाइरहेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको पनि यहाँ कुनै कमी छैन ।

मान्छेको असली रूप भनेको संकटका बेला परिक्षण गरिन्छ । महामारीले ज्यान जोगाउन समेत हम्मे हम्मे परेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको बिगबिगी नै छ । निषेधाज्ञाले बजार पसल बन्द रहेको र कतै सीमित समय खुल्ने भएकाले व्यवसायीले उपभोग्य सामग्रीमा कृत्रिम अभाव सृजना गर्दै कालोबजारी गर्न थालेका समाचारहरु छयाप छयाप्ती आइरहेका छन् । अत्यावश्यक खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि भएको छ । संकटका समयमा उपभाक्तालाई दोब्बर मूल्यसमेत हालेर किन्न बाध्य पारिएको छ ।

यतिबेला सबै निकायको ध्यान महामारी नियन्त्रणमा छ । सस्तो मूल्यमा आयात गर्ने र अभाव भएको भन्दै महँगो मूल्यमा बेच्दा उपभोक्ता ठगिन बाध्य भएका छन् । केही जिल्लाका बजार पसलमा अनुगमन नभएका होइनन्, भइरहेका छन् l तर बजार पसलमा अनुगमन नियमित हुन सकेको छैन । कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो छ । प्रहरीको सक्रियतामा औषधिमा कालोबजारी गर्ने र नक्कली औषधि बेच्ने गिरोह पक्राउ परेका समाचार पनि आएका छन् । प्रहरीको सक्रियता नबढेको पनि होइन । कोरोना कहरको असरले भोकभोकै बसिरहेका नागरिकलाई कसरी राहत दिने र अत्यावश्यकीय वस्तुको सुलभ पूर्ति गर्ने विषयमा कुनैपनि राजनीतिक दल, अधिकारकर्मीको ध्यानाकर्षण भएको देखिदैन । कालोबजारी गर्नेलाई कुनै कसर बाँकी नराखी कारबाहीको दायरामा ल्याउनुपर्छ । महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ । सरोकारवाला निकाय चनाखो र उपभोक्ता सचेत बनौं ।