‘स्रष्टा साँझ अमेरिका’ र ‘उपन्यास समाज नेपाल’को संयुक्त आयोजनामा चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’माथि पाठक परिचर्चा सम्पन्न भएको छ। जुम र फेसबुक लाइभमार्फत प्रसारित कार्यक्रममा नेपाल, बेलायत र अमेरिकाका पाठक तथा साहित्यकारहरूले उपन्यासका विविध पक्षमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए।
स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित र सोहि सँस्थाका टेक्सासनिवासी वैकुण्ठ आचार्य तथा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले आयोजकका तर्फबाट बोल्दै कार्यक्रमको सुरुवात गरेका थिए।
भर्जिनियाकी डा. कविता घिमिरेले ‘डङ्की’लाई उच्चस्तरको उपन्यासका रूपमा चर्चा गर्दै कृतिका कतिपय ठाउँमा लेखक हावी भएको अनुभूति सुनाइन्। यो उपन्यासलाई विश्वविद्यालयको पठनसामग्रीको रुपमा लिन सकिने उनको धारणा थियो।

बेलायतका महेश आचार्यले उपन्यास पढ्न थालेपछि बीचमै रोक्न नसकेको अनुभव सुनाए। चलचित्र हेरेझैँ ‘अब के हुन्छ?’ भन्ने उत्सुकताले आफूलाई निरन्तर तानेको उल्लेख गर्दै उनले उपन्यासको नाम फरक भएको भए कृति अझ आकर्षक बन्न सक्ने विचार व्यक्त गरे।
बेलायतबाटै विनोद अधिकारीले नेपालमा व्यवस्थित जीवन हुँदाहुँदै पनि मानिस किन विदेशिन्छ भन्ने प्रश्न उपन्यासले उठाएको बताउँदै उनले यस चाहनालाई आर्थिक अवसर, स्वतन्त्रता र व्यक्तिगत आकाङ्क्षासँग जोडेको कुरा उठाए।
नर्थ क्यारोलाइनाका साहित्यकार पेशल पोखरेलले ‘डङ्की’लाई नियात्रा र आख्यानको सुन्दर संयोजनका रूपमा व्याख्या गरे। उपशीर्षक ‘सपनाको कालबाटो’ले उपन्यासको मूल मर्म बोकेको बताउँदै उनले विज्ञान र वातावरणसम्बन्धी विषयको प्रभावकारी प्रयोगले यस कृतिलाई समकालीन उपन्यासहरूभन्दा फरक बनाएको धारणा राखे। प्रस्तुति र शैलीबारे बहस गर्न सकिने भए पनि भूगोल र विषय बुझेका डा. गिरीले जति अरू कसैले यति गहन विषयलाई कलम चलाउन सजिलो नहुने उनको भनाइ थियो। उपन्यासमा उल्लेखित चराको प्रसङ्गमार्फत जीवनदर्शन प्रस्तुत गरिएको पक्षलाई पनि उनले विशेष रूपमा उल्लेख गरे।
मिजौरीका प्राध्यापक तथा लेखक डा. केशव भट्टराईले लेखकसँगको पुरानो पारिवारिक सम्बन्ध स्मरण गर्दै गिरीबाट साहित्य र देशका लागि अझ धेरै योगदानको अपेक्षा गर्न सकिने बताए। त्यसैगरी, नर्थ क्यारोलाइनाका कुमार थापाले आफूले उपन्यासबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए।
परिचर्चामा उठेका जिज्ञासा र प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै लेखक चन्द्र गिरीले उपन्यास लेखनका अनुभव साझा गरे। पात्रको खोजीका क्रममा आफू बाल्यकालमा सुन्तला खाने गरेको इलामको सलकपुर पुगेपछि ‘पशुपति’ पात्र जन्मिएको उनले बताए। मेची पारि देखिने खर्साङ बजारको उत्यालो र पछि सामाजिक सन्जालबाट देखिएको अमेरिकाको झिलिमिलीले पनि अमेरिका जाने हुटहुटि बढेको उनको भनाइ थियो। पात्रभित्र अमेरिका जाने सपना पृष्ठभूमि पनि उनले सुनाए। कार्यक्रमको अन्त्यमा शंकर भारतीले सहभागी वक्ता, पाठक तथा दर्शकहरूलाई धन्यवाद दिँदै परिचर्चाको समापन गरे।
परिचर्चा कार्यक्रमको भिडिओ स्रष्टा साँझ अमेरिकाको फेसबुक पेजमा उपलब्ध छ।













