आखिर आपत बिपतमा आफ्नै गाउँघर प्यारो

-डा. डीआर उपाध्याय


सरकारले बिहिवारदेखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भनेपछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफ्नै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ-आफनै धुनमा हुन्छन् । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन् । काठमाण्डौमा भोकै मरिन्छ कि भन्ने चिन्ताले ती मानिसहरु गाउँ फर्किएका हुन् । गत बर्षको लकडाउनबाट पाठ सिकेका ती मानिसहरु आफनै गाउँघर फर्किन बाध्य भएका हुन् । अरु केही होइन । अर्को कुरा ती मानिसहरु लर्को लागेर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भीर प्रश्न छ ।

सरकारले गाउँ फर्कने होइन जो जहाँ छ, त्यहीं बसेर सुरक्षित रहने हो, हामी छौं, केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्कनेको भिडसंग कोरोना पनि संगै जान सक्छ । यो जोखिमसंग कोही कसै खेलवाड गर्नु हुँदैन । शहरबाट गाउँ जाँदैमा कोरोना संक्रमण नियन्त्रण हुने होइन । यसले गाउँलाई समेत आक्रान्त पार्न सक्ने भएकाले शहरबाट गाउँ जानेले सोच्नु पर्छ । अहिले तीव्ररूपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जुन ढंगले प्रभावकारी कार्यक्रम अगाडि बढाउनुपर्ने थियो, त्यो हुन सकेको छैन । सरकारले राजधानी छोडेर गाउँ जानेलाई केही सम्बोधन गरेन । बिहान बेलुका दुई छाकको जोहो गर्न नसकेर गाउँ जान लागेकालाई सरकारले राहत प्याकेज ल्याएर आश्वस्त पार्नुपर्ने थियो त्यति समेत गर्न सकेन । सरकारी तयारी अझै पुगेन । यसरी कछुवाको गतिमा हिडेर हुदैन । नागरिकहरुमा चेतना छ तर हेलचेक्र्याइँ बढयो जुन कारणले गर्दा कोरोना समुदायस्तरमा फैलन थालेको छ ।

अहिलेको अवस्थामा जनता सजग हुनु जरुरी देखिन्छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्न आनाकानी गर्नु हुदैन । तपाई हाम्रो बानीमा सुधार नआएसम्म कोरोना संक्रमण नियन्त्रणमा आउनसक्ने देखिँदैन । त्यसैले नागरिक आफैं जागरुक हुन जरुरी देखिन्छ । अहिले विश्वका सम्पन्न देशहरुलाई समेत संक्रमणले आक्रान्त पारेको छ । संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरु प्रभावकारी हुन सकेको देखिएको छैन । छिमेकी मुलुक भारतमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न भारत सरकारलाई समेत हम्मे हम्मे परेको छ । सरकारले पनि अव थप सजकता अपनाउनुपर्ने देखिन्छ ।

विगतमा कोरोना हरायो भनेर बढी भिडभाड भयो । जसका कारण आज यो अवस्था भोग्नु परेको छ । यसमा स्थानीय सरकारले ख्याल गर्नुपर्ने कुरा देखिएको छ । यो माहाविपतमा कसरी सुरक्षित रहने भन्ने चिन्ता सवैमा हुन्छ र हुनु पनि पर्छ । तपाई हामी नै लापरवाही गर्न थाल्यौ भने अवस्था झन खतरा हुन सक्छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञा सवैले पालन गर्नु र गराउनु जरुरी छ । यो निषेधाज्ञा रहर होइन, सरकारको बाध्यता हो । अटेर गरेर कोही घर बाहिर निस्कने नगरौं । आफनो अटेरिले गर्दा आफनो ज्यान संगै परिवारको ज्यान जोखिममा पर्न सक्छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर खतरनाक छ भन्ने स्वास्थ्य बिज्ञहरुले बताउदै आएका छन् । यसबाट जोगिन तपाई हामी आफै सतर्क रहनु पर्छ ।

सरकारले काठमाडौ उपत्यकामा १६ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे पछि राजधानी छोडेर आफ्नो गाउँ घर फर्किनेको भीड बढेको थियो । राजधानीबाट बाहिरीने मुख्य नाकाहरुमा हजारौ मानिस घर फर्कन लागेको भिड पनि तपाई हामी बिभिन्न संचार माध्यमवाट देख्यौं । त्यसले के जनाउँछ भने शहर सुरक्षित छैन । गत वर्ष जस्तै यो दोस्रो लहर पनि लामो हुन्छ की भन्ने आम नागरिकमा एक खालको मनोबिज्ञान छ । यद्यपि भीडभाड बढदा कोरोना संक्रमणको जोखिम बढन सक्छ । कोरोना संक्रमणको पछिल्लो अवस्थालाई हेर्ने हो भने मुलुकमा विकराल रूप लिने निश्चित प्रायः देखिन्छ ।

Top of Form