बेरोजगारी समस्या नै देशको लागि गम्भीर चुनौति

डा. डीआर उपाध्याय


लामो समयदेखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढ्दै गएको छ । यो हाम्रो देशको लागि गम्भीर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सबै एक हुनुपर्ने आवश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नुपर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुकभित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन् । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन, बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ । यो हाम्रो नेपालको यथार्थ चित्रण हो ।

गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । गाउँमा कोही मान्छे बिरामी पर्दा अस्पताल पुर्याउने र मर्दा लास उठाउँने अभाव छ । हाम्रो देशमा राजनीतिक परिवर्तन पटक पटक भए, तर बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यूँ छन् । बेरोजगार र गरिब जनतालाई अगाडि देखाएर सत्तास्वार्थको भर्याङ् चढ्ने प्रवृति धेरै बढेर गयो । राजनीतिक दल र तिनका नेताहरु बेइमानी भए । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो । देशमा गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान-बेलुकाको छाक टार्नसमेत धौधौ छ । बेरोजगार युवाको परिचालन तथा व्यवस्थापनमा राज्यले जति गर्नुपर्ने थियो, त्यति गर्न नसक्दा समस्या थप बल्झिएको हो। यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने बिदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ । अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ । सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।

मानिसलाई बाँच्नका निम्ति गाँस, बास र कपास अत्यावश्यक बस्तु हुन् । यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नुपर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले फाइदा लिन सक्नु पर्छ । सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा ध्यान दिनु पर्छ ।

अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । पर्यटनको ठूलो सम्भावना रहेको नेपालमा पर्यटकीय स्थल विस्तारमा जोड दिँदा राम्रो हुन्छ । त्यसैगरि कृषि वा पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले स्वदेशमा नै प्राविधिक शिक्षाको विस्तार गर्नु पर्छ । प्राविधिक शिक्षाले केही हदसम्म रोजगारीको सुनिश्चिता गर्छ । अहिले आत्मनिर्भरता, विकास र,समृद्धिका कुरा ओझेलमा परेका छन् । रोजगारीका अवसर गुमेका छन् । समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ ।