एमालेभित्र वामदेव गौतमले खेल्नुपर्ने भूमिका

-डा. डीआर उपाध्याय


मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भावनात्मक रुपमा मिलेर अघि बढ्नु पर्छ । एमालेका नेताहरू मिलेर जाँदा नै लोकतन्त्र बलियो र मजवुत बनाउन सकिन्छ । अहिले नेकपाका नेताहरु सम्बन्ध विच्छेदको अवस्थामा होइन, सम्वन्ध बलियो बनाउने बाटोतर्फ अघि बढ्नु पर्छ । एमाले फुट्ने होइन, जुट्ने कसरतमा लाग्नु पर्छ । एमाले पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका छन् l यो राम्रो कुरा होइन l  यसले राम्रो सन्देश पनि दिदैन । यो जुँगाको लडाइँ हो । अब केपी शर्मा ओली, माधव-झलनाथ र बामदेव मिलेर जानु पर्छ । यो समयको माग पनि हो । अव एक आपसमा झै झगडा गरेर बस्ने बेला होइन ।

अव एमालेले चमत्कार गरेर देखाउनु पर्छ । अहिले पाटीभित्र जुन किसिमको गतिविधि भैरहेका छन् ति गतिविधिले कतै पुग्न सकिँदैन । गलत राजनीतिक बाटोले राजनीति जोगिँदैन । हरेक कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन् । पार्टीप्रति उनीहरूको आस्था, विश्वास, जिन्दगी र भविष्य जोडिएको हुन्छ । जुन पार्टीमा आफ्नो लगानी, श्रम, संघर्ष र लगाव छ, त्यो पार्टी समाप्त र लथालिंग होस् भनेर कोही पनि सोच्दैन । एमाले पार्टीलाई फुट हुनबाट जोगाउने हो भने पार्टीका तल्लो तहदेखिका कार्यकर्ताले नेतृत्वमाथि प्रश्न गर्ने हिम्मत गर्नु पर्छ । नेताहरुले गुटगत गतिविधिबाट टाढा रहेर एकताको वातावरण तयार गर्न भुमिका निर्वाह गर्नुपर्छ ।

अव एमालेका नेताहरुमा मन मिल्नु पर्छ । त्यसो भयो भने पाटी बलियो बनेर जान्छ । कम्युनिस्ट नेताहरूले विचार, सिद्धान्त, दर्शन र कार्यक्रमलाई अघि बढाएर जानु पर्छ । अनि मात्र जनताको मन जित्न सजिलो हुन्छ । नीति र नेताबारे छिनोफानो गर्ने सर्वोच्च र सार्वभौम थलो भनेको महाधिवेशन हो l  नेकपा एमालेले अहिले देखिएको विवाद समाधान गर्न महाधिवेशनमा जानु पर्छ । कोठे बैठक, गुटगत भेला र आरोप-प्रत्यारोपले पाटी चल्दैन । एमालेले उपलब्धिविहीन, निरर्थक र औचित्यहीन भेला बोलाएर मात्र हुदैन । निकासको बाटो पनि खोज्नु पर्छ । अव निकासको बाटो् भनेको महाधिवेशनको दिशामा अग्रसर हुनु नै हो ।

सर्वोच्च अदालतको आदेशपछि एमालेले पुनर्जीवन पाएको छ । लामो समयपछि क्रियाशील भएको पार्टीलाई गति प्रदान गर्न जरुरी छ । माओवादी केन्द्र परित्याग गरेर जोखिम उठाएका नेताहरूलाई सम्मानजनक रूपले व्यवस्थापन गर्नुपर्छ । पार्टीभित्रका अन्तर्विरोध छिटो हल हुनु पर्छ । कुनैपनि पार्टी जीवन्त र क्रियाशील हुने माध्यम भनेको विधिको पालना नै हो । पार्टी विधिसम्मत, प्रक्रियासम्मत र संस्थागत रूपले सञ्चालन भएमा मात्र पार्टीभित्रका अन्तरद्वन्द्व हल भएर जान्छन् । यो सवैले बुझन जरुरी छ । एमालेका नेताहरू विधि, विचार र विधानको घेराभित्र बस्न सकेनन् । जसले गर्दा समस्या बल्झिएको हो । अब एमाले नेताहरूले आत्मसमीक्षा गर्ने बेला आएको छ । सांगठनिक रूपमा बलियो र व्यवस्थित एवं वैचारिक रूपमा सुदृढ पार्टी एमाले विभाजित हुनु हुदैन । यदि पाटी बिभाजित भयो भने नेपाली कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने गरी पछारिने छ ।

अव नेकपा एमालेले नयाँ शिराबाट छलफलको थालनी गर्नुपर्छ । सहमतिका आधारमा केन्द्रीय बैठक र एजेन्डाको तय गर्दै पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्नुपर्छ । कोठे बैठकले पार्टीलाई कमजोर बनाउँछ । नेताहरूले पूर्वाग्रह, इगो र बदलाको भावना छोडनु पर्छ । पार्टी पुनर्गठन र पुनर्निर्माण अभियानमा जोडिनु नै सबैका लागि भलो हुनेछ । अव वामदेव गौतमले एमाले एकताका लागि मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने समय आएको छ । गौतम आँटीला र जोसिला नेता हुन । बिगतमा पाटी भित्र उनको भूमिका महत्वपूर्ण रहदै आएको छ । अहिले पनि उनी पाटी एकताकै पक्षमा उभिएका छन । त्यसैले पनि गौतमले एमाले मिलाएर लैजानु पर्ने परिस्थिति सिर्जना भएको छ । वामदेव गौतमको अगाडि ठूलो अवसर आएको छ । यो अवसरको सदुपयोग गर्ने वा नगर्ने त्यो उनकै हातमा छ ।