हतारमा गरिएको पार्टी एकताको परिणाम

डा. डीआर उपाध्याय


सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन् । राजनीतिमा ओझेलमा परेका ऋषि कट्टेल अहिले यो फैसला पछि चर्चित बनेका छन् । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल-नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन् । हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू मिलेर अघि बढनुपर्ने अवस्था निर्माण भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच हतारमा पाटी एकता भयो । त्यसको परिणाम अहिलेको परिस्थिति सिर्जना भएको देखिन्छ । मुख्य कुरा विचार र सिद्धान्त मिल्नु पर्छ । विचार र सिद्धान्त नमिलिकन गरिएको एकता टिकाउ हुँदैन । अहिले भएको त्यही हो । जबसम्म विचार तथा सिद्धान्तमा मेल खाँदैन तवसम्म एकता बलियो र टिकाउ हुँदैन । नेतृत्वहरू स्वार्थ र तिकडमको खेलमा अघि बढ्दा यो समस्या आएको हो । विचार र सिद्धान्त नमिलेसम्म एकता सार्थक र प्रभावकारी हुन सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गदै आएको छ ।

लोकतन्त्र बलियो बनाउने हो भने राजनीतिक दलहरू फुट्नुहुँदैन । दलहरु फुटदा लोकतन्त्र कमजोर हुन्छ । अव दलहरू फुटेर होइन जुटेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन सक्छ । त्यसैले, सबै कम्युनिस्ट घटकबीच एकताको जरुरी छ । यो एकता ढिलोचाँडो अनिवार्य नै छ । अहिले एमाले र माओवादी केन्द्रबीच तत्कालका लागि पुनः एकता हुन सक्ने अवस्था नभए पनि कार्यगत एकता गरेर अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ ।

हरेक पार्टीको सबैभन्दा ठूलो कुरा भनेकै अनुशासन हो । हरेक पाटीले विधि र पद्धतिको पालना गर्न सिक्नु पर्छ । आफ्नै नेतृत्व र नेतालाई गाली गलोजको परिपाटी अन्त्य हुनु पर्छ । यस्ता गतिविधिले पाटीलाई कमजोर बनाउँछ । हिजोको दिनमा नेकपाको आन्तरिक बिवादका कारण आम कार्यकर्तामा निराशा छाएको थियो । अव कार्यकर्तामा निराशा आउन दिनु हुँदैन । नेकपाका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव पनि अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका छन् । आम नेपालीका लागि यो एउटा खुशीको कुरा हो । यतिबेला सर्वोच्चको पछिल्लो फैसलाले सिंगो राजनीतिलाई नै तरंगित बनाएको छ । यस अवस्थामा नेत्रविक्रम चन्दको आगामी रणनीति के हुने हो सवैको चासोको बिषय बनेको छ । नेपाली जनताको वर्षौंदेखिको अपेक्षा भनेको बिकास र समृद्धि हो । स्वदेशमा रोजगारी नपाएर युवा जनशक्ति विदेश जान बाध्य छन् । युवा जनशक्तिलाई आफ्नै देशमा विभिन्न क्षेत्रका रोजगारीका स्रोतहरू सिर्जना गरेर जानु पर्ने अवस्था छ । अव दलहरुको ध्यान यतातिर केन्द्रित बनोस् ।