स्वार्थको राजनीति मौलाउँदै

डा. डीआर उपाध्याय


अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । नेताहरुको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउछ । राजनीति भनेको समाजसेवा हो । तर नेपालमा राजनीतिलाई ब्यापार जस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको बिकास हुन नसकेको कारण पनि यो हो । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरु सवैभन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो ।

जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरु देशप्रति संवेदनशील बन्नु पर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित हुन्छ भने निष्ठाको राजनीति आमनागरिक र राष्ट्रकै हित र स्वार्थमा केन्द्रित रहन्छ । पछिल्लो समयमा स्वार्थको राजनीति मौलाउँदै आएको छ । यसको कारण पनि व्यक्तिमा निहित लोभ लालच र स्वैच्छाचारिता नै हो । सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् ।

कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन् । त्यसतो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन् । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ । मुलुक अब पुनः त्यही अवस्थामा फर्कंदै छ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको अवस्था छ । अव सरकार बनाउने र गिराउने खेल सुरु हुन्छ । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भएपनि जनताका लागि भने घातक बन्दै आएको छ ।

लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नु पर्छ । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो । पछिल्लो समयमा स्वार्थको राजनीति बढेर गएको छ । निष्ठाको राजनीति ओझेलमा पर्दै गएको छ । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै राजनीतिक वृत्तमा अगाडि छन् । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने हो । तिनीहरुले देश र जनताको पक्षमा केही सोच्दैनन् ।

निष्ठाको राजनीति सधैं सकारात्मक कार्यतर्फ उन्मुख हुन्छ । निष्ठावान् राजनीतिज्ञको मनमस्तिष्कमा कपट हुँदैन । निष्ठाको राजनीति सामाजिक जीवनस्तर सुधार गर्नमा केन्द्रित रहन्छ भने स्वार्थको राजनीति व्यक्तिगत लाभमै सीमित रहन्छ । निष्ठाको राजनीतिले सिद्धान्त, विकास निर्माण र जनसरोकारका विषयलाई मूल मुद्दा बनाएको हुन्छ । अहिले निष्ठाको राजनीति घट्दो अवस्थामा छ भने स्वार्थको राजनीति मौलाउँदो अवस्थामा छ । निष्ठाको राजनीतिले व्यक्तिको कद बढाउँछ, स्वार्थको राजनीतिले घटाउँदै लान्छ ।