भागरथी अपराध प्रकरणले उब्जिएको प्रश्न

-डा. डीआर उपाध्याय


महिलामाथि हुने हिंसा अझै रोकिएको छैन । यो २१औं शताव्दीमा पनि महिला हिंसा बढिरहेका छन् । चेतनाको अभावले यी र यस्ता घटनाहरु घटिरहेका छन् । कुनैपनि महिला कुनै क्षण ढुक्कसँग घर बाहिर हिंड्न सकिरहेका छैनन् । महिला सुरक्षाको प्रश्न फेरि गम्भीर रूपमा उठेको छ । बैतडी जिल्लाको दोगडाकेदार –७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको समाचार छ । यस घटनाले समग्र महिला सुरक्षाको विषयमा थप चुनौति थपिएको छ । अव राज्य र सरोकारवाला सबै निकाय गम्भीर बन्नुपर्ने अवस्था देखिएको छ । यो घटनाले फेरि सवैलाई झसङ्ग पारेको छ । राज्यका विभिन्न निकाय र महिला अधिकारकर्मीहरु यस विषयमा गम्भीर बन्नुपर्ने अवस्था सृजना भएको छ ।

राज्यले सत्यतथ्य छानबिन गरि अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ र पीडित परिवारलाई न्याय दिलाउनु पर्छ । यस्ता घटनाहरु बारम्बार घट्ने गरेका छन् । देशमा कानुन फितलो हुँदा अपराधीको मनोवल बढिरहेको अवस्था छ । अब संविधान संसोधन गरेर भएपनि बलत्कारी तथा अपराधीलाई हदै सम्मको कारवाही गर्ने कानुन बनाउनु पर्छ । विश्वका केही देशमा बलत्कारी तथा अपराधीलाई कारवाही गर्ने कठोर कानुन भएको हुँदा यस्ता घटनाहरु बारम्बार दोहोरिएका हुँदैनन् । यस्ता घटनाहरु बारम्बार दोहोरिनाले हाम्रा छोरीचेलीले आफ्नै घर र समाजमा असुरक्षित महसुस गरेका छन् । महिला हक अधिकारका लागि काम गर्ने महिला अधिकारकर्मीहरु जब यस्ता घटना घट्छन् अनि वक्तव्यबाजी र सडक आन्दोलन गर्छन् । पीडित परिवारले न्याय र दोषीलाई कारबाही नहुञ्जेलसम्म महिला अधिकारकर्मीहरु न्यायको निम्ति लडिरहनु पर्छ ।

निर्मला हत्या काण्डका दोषी अझैसम्म पत्ता लागेका छैनन् । यी त प्रतिनिधि घटना मात्रै हुन् । समाजमा लुकेका र लुकाइएका बलात्कारका घटनाहरु प्रशस्त मात्रमा सुनिन्छन् । राज्य संयन्त्र पनि यस्ता घटनाप्रति धेरै जिम्मेवारी बन्नुपर्छ । यस्ता घटना घट्नासाथ राष्ट्रिय मिडिया देखि स्थानिय मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गर्ने गर्छन् । यही सञ्चार माध्यम मार्फत यस्ता घटनाहरु बेलाबेलामा बाहिर आउने गर्छन् । सञ्चार माध्यम भनेका समाजका ऐना हुन् । सञ्चार माध्यम नहुँदो हो त समाज पुरै अन्धकार जस्तै हुने थियो । आज भोलि त सामाजिक सञ्जाल देखि सबै सञ्चार माध्यममा गलत काम गर्ने र लुकेका कुराहरु छिट्टै बाहिर आउँछन् । अब कसैले पनि गलत काम लुकाउन सक्ने अवस्था छैन ।

सर्वत्र मानव सभ्यतालाई नै कलङ्कित र स्तब्ध पार्ने यस्ता घटनालाई सरकारले गम्भीर रूपमा लिनु पर्छ । घटनामा मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग लगायत धेरै सङ्घ-संस्थाले तत्काल अपराधी पत्ता लगाउन सरोकार निकायसँग जोडदार माग गरेका छन् । भागरथी अपराध प्रकरणको अनुसन्धान फितलो हुनु हुदैन । बर्षौंपछि पनि कतिपय अपराधी कानुनको कठघरामा आएका छन् । यो घटनाका अपराधी पनि कानुनको कठघरामा आउनु पर्छ ।